संखुवासभा । धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट जीप खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको काठमाण्डौबाट आएको तालिम प्राप्त गोताखोरको टोलीले खोजी गरिरहेको छ ।
बिहीबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि शुक्रबार ८ बजे देखि टोलीले फेरि खोजी कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बलका विपद उद्धार गढको दक्ष प्राविधिक टोलीका वरिष्ठ हवल्दार बलराम अधिकारीसहित चार जनाको टोलीले बेपत्ताको खोजी गरिरहेका छन् ।
गएको मंगलबार राति खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका थिए ।
प्रहरी हवल्दार अधिकारीका अनुसार पानी धमिलो र वहाब बढी भएकाले पनि समस्या भइरहेको छ । उहाँले भन्नुभयो ‘बाढीका कारण पानी लेदोसहित धमिलो छ । पानी भित्र पस्दा करिब एक मिटरको हाराहारी मात्रै देखिन्छ । हामीलाई विश्वास छ हामी पत्ता लगाउँछौँ ।’
अरुण नदीमा पानी सतह अझै सम्म नघटेको र धमिलो भएको हुदाँ जीप नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो ।