विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको उपसचिव सुर्यप्रसाद सुबेदीले तलव नपाएको साउन महिना देखि नै हो । दशै आउन अब १० दिन पनि बाँकी छैन तर अहिलेसम्म तलव नआउँदा सुबेदीजस्ता धेरै कर्मचारीलाई समस्या भएको छ ।
सुबेदीले आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘आज पनि मोवाइलको मेसेज बक्समा राष्ट्रिय बाणिज्य बैङ्कको म्यासेज आएन। भोलि दशैको जमरे औंशी रे। चाडपर्व खर्च त टाढैको कुरो भयो । श्रावण देखि आजसम्म धन्न होटलमा खाना खान पाइएको छ। होटल धनी राम्रो हुनुहुन्छ। म र म जस्ताको मर्म बुझ्नु हुन्छ। आफैँ पकाएर खाना खान थालेको भए विजोग हुने रहेछ। अव महिनावारी तलव खाने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन पठाउनु पर्ने भयो जस्तो छ। तलव दिन पनि आफ्नै निजी सम्पतिबाट दिनु पर्ने जस्तो व्यवहार देखि म अचम्मित छु। तलवको पेरोल , भौचर र चेक तयार गर्न नसक्ने भए सक्दिन भनेर श्री ३ ले हात उठाए म नै १ घण्टामा तयार गरेर बैङ्क पठाउने थिएँ ।’
उनले लेखेको यो फेसबुक स्टाटसले महालक्ष्मी नगरपालिकामा कार्यरत सबै कर्मचारीको प्रतिनिधित्व गर्छ । निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायक कसैले पनि साउनदेखि तलव खान पाएका छैनन् ।
सुबेदीकै भनाईलाई आधार मान्ने हो भने, ‘संघीयता कार्यान्वयन पछि न तलव समयमा छ, न कर्मचारी संचयकोषको रकम नियमित जम्मा नै हुन्छ ।’ अनी नागरिक लगानी कोषको रकम समेत समयमा जम्मा हुन नसकेको आरोप लाग्दै आएको छ । ब्यथितीले सिमा नाघेको कर्मचारीहरु बताउन थालेका छन् ।
यो नगरपालिकामा मात्र ४५ जना कर्मचारीको दरबन्दी हो । स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा ७० जना भन्दा माथि कर्मचारी गरी करिब एक सय २० जना कर्मचारीले साउन देखि तलव खान नपाएको गुनासो गरेका हुन् । यस नगरपालिकामा काम गर्ने शिक्षकको त गन्ती नै गरिएको छैन । कति कर्मचारी छन् भन्ने जानकारी प्रमुख प्रशासकीय अधिकृत सँग पनि छैन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेब रायमाझीले निकासा हुन ढिला भएको कारण समस्या भएको बताए । ‘अहिलेसम्म कुनै पनि कर्मचारीलाई तलव दिईएको छैन, मैले पनि तलव खाएको छैन, उनले भने, अबको २÷३ दिन भित्रमा सबैलाई तलव खुवाउने तयारी भईरहेको छ।’ शुरुमा सोध्दा नियमित तलव खुवाएको दाबी गरेका थिए । तर पछि मात्र उनले चार महिनाको एकै पटक निकासाको कारणले गर्दा समस्या भएको बताए । ‘निकासा नभएको कारण खाता संचालन भएको थिएन, उनले भने, संघ बाट नै यस्तो हुँदा मैले पनि तलव खान पाएको छैन ।’