धरान । धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका गतिविधि बढ्न थालेका छन्। विभिन्न दलले चुनाव जित्ने चर्चा भइरहँदा मेयर पदका लागि हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि रिक्त मेयर पदका लागि राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। धरान–१८ का राईले पत्रकार सम्मेलनमा आफ्नो घोषणापत्रसमेत सार्वजनिक गरेका थिए। ‘धरानमा रहेका आम मानिसका लागि मेरो उम्मेदवारी हो,’ राईले भने ‘संविधानको मर्म र भावनाअनुसार धराने जनताको सेवक भएर इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता जनाउँछु।’
अहिलेको नेतृत्वले नगरवासीको हितमा काम गर्न नसकेको आरोप लगाउँदै उनले आफू धरानेको विकासका लागि चुनावमा होमिएको बताए। ‘तपाईं जनताले तिरेको करबाट सुविधा लिनु शोभनीय होईन, मैले चुनाव जितेँ भने सेवा सुविधा नलिनेसमेत घोषणा गर्दछु,’ उनले भने ‘यदि सुविधा लिएँ भने धराने जनताले मेरो खुटा भाँचिदिए हुन्छ,’
राईले सुशासनको प्रत्याभूति, चुस्तदुरुस्त प्रशासन, जनमुखी तथा जवाफदेही उपमहानगर, वैज्ञानिक कर प्रणाली लागू गर्ने चुनावी एजेण्डा अघि सारेको जानकारी दिए।