कोसी अस्पतालका भूपू, विराटनगरका क्लिनिकका विशेषज्ञ

विराटनगर । कोसी अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नशा, बाथ रोग विशेषज्ञ डा.रमेश बस्नेत अहिले क्लिनिकमा बिरामीको परीक्षण गर्दछन् । सरकारी अस्पताल कोसीमा भूपू भएको क्लिनिकले राखेको बोर्डबाटै प्रष्ट हुन्छ । विशेषज्ञता भएका बस्नेत कहलिएका चिकित्सक हुन् । तर, विराटनगरका क्लिनिकमा उनको विशेषज्ञतालाई भन्दा बढी महत्व कोसी अस्पताललाई दिइएको छ ।

सरकारी अस्पतालको सेवा लिन आएका बिरामीलाई क्लिनिकले झुक्याउने गर्दछन् । त्यसैका लागि चिकित्सकको विशेषज्ञतालाई भन्दा धेरै मान्यता सरकारी अस्पताललाई दिएको आरोप लाग्ने गरेको छ ।
विराटनगरको सरकारी अस्पताल कोसीमा कार्यरत विशेषज्ञ चिकित्सक निजी क्लिनिकमा पुगेर बिरामीको स्वास्थ्य परीक्षण गर्दछन् । सरकारी अस्पतालसँगै निजी क्लिनिकमा बिरामीको परीक्षण गर्न नपुग्ने चिकित्सक बिरलै होलान् । सरकारी अस्पतालमा भूपू भईसकेका पनि निजी क्लिनिकमा पुग्छन् । उनीहरुलाई निजीले भूपू भनेरै उल्लेख गरेर प्रचार गरिरहेका छन् ।

सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा लिन आएका सेवाग्राही बिचौलियाको फन्दामा परेर निजी क्लिनिकमा पुग्न बाध्यछन् । कतिपय बुझेरै पनि क्लिनिकबाट चाँडो परीक्षण हुने आसामा पुग्दछन् । बुझ्नेहरुले निजीको सेवा लिन रकमको बन्दोबस्द गरेरै आएका हुन्छन् । नबुझ्नेहरुले उपचार नसकाउँदै पैसा सकिएर त्यसै फर्कनुपर्ने अवस्था पनि भोग्छन् ।
सेवाग्राहीलाई झुक्याउन चिकित्सक कार्यरत सरकारी अस्पतालको नाममा निजी क्लिनिकले प्रचार गर्ने गरेपछि त्यसलाई रोक्न अस्पतालले स्थानीय प्रशासनसँग माग गरेको छ । निजी क्लिनिकले विशेषज्ञ चिकित्सकको सेवा रहेको जानकारी दिन राखिएका बोर्डमा सरकारी अस्पतालको नाम समेत उल्लेख गरेर दुरुपयोग गरिरहेको भन्दै कोसी अस्पताल प्रशासनले तत्काल हटाउन निर्देशन दिइएको हो ।

चिकित्सकले हाँसिल गरेको विशेषज्ञता भन्दा सरकारी अस्पतालको नाममा सेवाग्राहीबाट दाम असुल्ने कार्य बन्द गराउन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले स्थानीय प्रशासनसँग आग्रहगर्नु भएको छ ।
कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट खरेलले निजी क्लिनिकमा सरकारी अस्पतालको नाम दुरुपयोग गरेर सेवाग्राहीलाई ठग्ने काम गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग कारवाहीका लागि माग गर्दै लिखित उजुरी समेत दिनुभएको छ । स्थानीय प्रशासनलाई लिखित रुपमै पत्राचार गरेर मेसु खरेलले निजी क्लिनिकमा चिकित्सकको सेवासँग जोडेर कोसी अस्पतालको नाम उल्लेख गर्दा सेवाग्राही ठगीने क्रम बढेको बताउनु भएको छ । अस्पतालका मेसु खरेलले कुनैपनि निजी क्लिनिकले चिकित्सकको परिचय दिलाउन उल्लेख गरेका विवरणमा कोसी अस्पतालको नाम उल्लेख गर्न नमिल्ने बताउनुभयो । उहाँले सर्वसाधारणको गुनासोका आधारमा स्थानीय प्रशासनमार्फत त्यस्ता क्लिनिकलाई कारवाही गरिदिन माग गर्दै लिखित उजुरी दिएको जानकारी दिनुभयो ।

सेवाग्राहीलाई झुक्याउन वा सरकारी अस्पतालको नाममा भर पारेर गरिने यस्तो कामलाई निरुत्साहित गर्नुपर्ने विराटनगरका युवा मुकेश बुढाथोकी बताउनुहुन्छ । कोसी अस्पतालको नामका आडमा स्वास्थ्य सेवाको व्यापार निजी क्लिनिकमा भईरहेकोले यसलाई रोकिनुपर्ने माग बुढाथोकीको छ ।
क्लिनिक सञ्चालकले कोसी अस्पतालका विशेषज्ञ चिकित्सकले परीक्षण गर्ने जानकारी दिन ठूलाठूला बोर्ड राखेका छन् । त्यति मात्रै नभई कोसीका भूपू डाक्टर भनेर समेत जोड्न भ्याएका छन् । मेसु खरेलले कुनैपनि बहानामा चिकित्सकको परिचय खुलाउन लेखिएका विवरणमा कोसी अस्पतालको नाम लेख्न नपाईने दावी गर्नुभयो ।

यसरी क्लिनिकले नाम लेखाएको भए डाक्टरले मेटाउन लगाउनु पर्ने मेसु खरेलेको तर्कछ । डाक्टरले प्राप्त गरेको विशेषज्ञतालाई नै जिस्ताउने गरि भूपू भनेर समेत लेख्ने क्लिनिकका सञ्चालकले बिरामीलाई ठगी रहेको गुनासो आएको मेसु खरेलको दावी छ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस