विराटनगरलाई ज्ञानुले सुनाइन सुमधुर आवाज

विराटनगरलाई ज्ञानुले सुनाइन सुमधुर आवाज

मोरङ विराटनगर । राजधानीको कोलाहलबाट फुत्केर पूर्वको उज्यालो हेर्न आएकी ज्ञानु राणाले विराटनगरलाई शुक्रबार साँझ मोहित बनाइन् । गुरुकुलको आयोजनामा भएको एकल गायन कार्यक्रममा राणाको कोकिल गान सुत्र आउनेहरू तृप्त भएर फर्केका देखिन्थे । युवाहरू ‘फल्ना रिमिक्सको ओरिजनल गीत’ भनेर टिप्पणी गर्दै थिए र अधबैंसेहरू आफ्नै यौवनमा फर्केको अनुभव गर्दै थिए ।
‘च्याङ्वा हो....ई च्याङ्वा सुन सुन हो...ई च्याङ्वा’ र ‘सिरीमा सिरी नि कान्छा बतासै चल्यो’ जस्ता युगल गीतमा विराटनगरकै नवोदित कलाकार साजन राईले साथ दिए ।
‘या कुन्देन्तुषार हार धवला..’ सरस्वती वन्दनाबाट आफ्नो प्रतिभा प्रदर्शन आरम्भ गरेकी उनको पहिलो प्रस्तुती ‘न त गीत नै, न त प्रीत नै, हर रातहरू उदास छन्,’ थियो । उनले भनिन्, ‘यो मेरो गीत सार्वजनिक भइसकेको छैन, भर्खर रिलिज हुने क्रममा छ ।’
त्यस्तै ‘कसैले बुझेन मेरो मनको बहलाई’, ‘तिम्रो हाम्रो भेट भाको दिन, सङलो पानी धमिलो मन किन’, ‘ऐयाबारी लैलै खुइय्य हाहा,’ र ‘कालीपारि दाइ कति राम्रो’ जस्ता लोकप्रिय गीत सुुनेर दर्शक र श्रोताहरू रोमाञ्चित भइरहेका थिए । लगातार दुई घण्टा उनले आफ्नो स्वर माधुर्य पस्किरहँदा समय गएको कसैलाई पत्तै भएन
‘मलाई रिमिक्स मन पर्दैन,’ राणाको विचार थियो, ‘रिमिक्समा मौलिकता हुँदैन त्यसैले मेरो हृदयले यसलाई स्वीकार गर्दैन । हामीले उहिले मेहनत गरेर गाएका गीतहरू कहिल्यै नबिर्सने कारण मेहनत र मौलिकता नै हो । अहिलेका गीतमा मेहनत नै हुँदैन ।’
आफू यसअघि १५ वर्ष पहिले विराटनगर आएको उनले बताइन् ।
उनले भनिन्, ‘त्यति बेला एकेडमीको कार्यक्रममा सिक्किम जान भनेर आएकी थिएँ र विराटनगरमा गीत गाउने अवसर पाएकी थिएँ ।’
कार्यक्रममा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले राणालाई फूल र टिका लगाइदिएर आशीर्वाद दिए ।
राणाको एकल गायनको उद्घाटन पूर्व उपप्रधान मन्त्री सुजाता कोइरालाले गरेकी थिइन् । कोइरालाले गीतसङ्गीतका क्षेत्रबाट राजनीतिमा शुद्धीकरण गर्ने अनि सहमति र एकताको बाटो अपनाउन आफूलाई प्रेरणा प्राप्त भएको धारणा प्रकट गरिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्