‘स्टार वा हिरो बन्छु भनी सिनेमा क्षेत्रमा आएको होइन’: अर्जुन कार्की

‘स्टार वा हिरो बन्छु भनी सिनेमा क्षेत्रमा आएको होइन’: अर्जुन कार्की

नेपाली रजतपटका धेरै अनुहारहरु मध्ये कमैले आफ्नो बिछुट्टै पहिचान बनाउन सक्षम हुन्छन् । अझ मोफसलका कलाकारहरुका लागि यो अतिनै गाह्रो चुचुरो लाग्ने गर्छ । तर मोफसलबाट सिनेमा क्षेत्रमा प्रवेश गरेका एक्सन नायक तथा निर्माता अर्जुन कार्की तिनै अलग नामहरु मध्येका एक हुन् । सुरुमा स्टन्ट म्यानबाट नायकहुँदै द्वन्द्व निर्देशक अनि निर्माता भएका अर्जुन अहिले आफ्नो होम प्रोेडक्सन मार्शल फिल्म्सको ब्यानरमा बनेको चलचीत्र ‘बजार’को प्रामोशनल प्रदर्शनको लागि देश दौडाहाको क्रममा विराटनगरमा छन् । आगामी पौष२९ गते देखि देशभर प्रदर्शन गरिने बजारको निर्देशन एनबि महर्जनले गरेका हुन भने कथा ब्रजेश खनालको छ । प्रस्तुत छ उनै नायक तथा निर्माता अर्जुन कार्कीसँग सरोज कार्कीले गरेको कुराकानीको केहि अंशः


सिनेमा क्षेत्रमा कसरी लाग्नु भयो ?

म स्टार वा हिरो हुन्छु भनेर यो क्षेत्रमा लागेको हैन । मोरङको वाहुनीमा जन्मि हुर्केको एक साधारण ठिटो म केहि भिन्न गर्ने सोच र अरुले वाह भन्ने काम गर्ने रहरका साथ अवसर खोज्दै जाँदा यो क्षेत्रमा फिट भएको हुँ । सानै देखि साहसी काम गर्ने भएकाले नै विशेष गरि फिल्मी क्षेत्रको पनि द्वन्द्वकलातिर म आकर्षित भएको हुँ ।

# नायकमा जमिरहदा किन चलचित्र निर्माण तर्फ लाग्नु भएको ?
म केहि नयाँ गरु भन्ने सोच साथ चल्दछु । सिक्ने क्रममा सिनेमा क्षेत्रकै अर्को पाटो चलचित्र निर्माण तिर पनि केहि गरौ भन्ने उद्देश्य लिएर मेरा मित्र मधुकुमार श्रेष्ठसँग मिलेर ‘बजार’को निर्माण गरेको हुँ । अरुको चलचित्रमा आफुले गर्न खोजे जस्तो काम गर्न नसकिने भएकाले पनि आफ्नो सिप निखार्न आफ्नै प्रोडक्सनको चलचित्र निर्माण गरेको हुँ ।

# बजार कस्तो प्रकारको चलचित्र हो ?
अहिलेको देशको परिस्थितिको कथावस्तु ‘बजार’मा समेटिएको छ । यसमा काठमाडौको कथा छ । काठमाडौ सहरमा हरेक क्षेत्र र प्रकारका मानिस बस्छन्, हरेकको आ–आफ्नै सपना हुन्छ । कसैको पुरा हुन्छ भने कसैको खरानी हुन्छ । पारिवारिक तथा एक्सन शैलीको चलचित्रले वास्तविकता बोकेको छ । निक्कै मेहेनतका साथ निर्माण गरिएको यस चलचित्रप्रति हामीले एकदमै आशा गरेका छौ ।

#यसमा तपाईको भुमिका कस्तो छ ?
म यसमा केहि गर्नु पर्छ भन्ने सकारात्मक भावना भएको एउटा युवा विद्यार्थी नेताको भुमिकामा छु जसलाई राजनीतिक दलहरुले चाहुञ्जेल प्रयोग गरेर प्रयोग नहुने अवस्थामा पुगेपछि निचोरेर फाल्ने गर्दछन् ।

#बजार छाँयाकनको क्रममा भएको कुनै अविस्मरणीय घटना सम्झनु पर्दा ?
धेरै छन्, हामी पुरै टिम छाँयाकनको क्रममा मुस्ताङ गएका थियौ । छाँयाकन सकिएको तिन चार दिनसम्म पनि फ्लाइट नपाउदा हामी मूस्ताङबाट हिड्दै आउनु पर्यो । भरिया नपाउदा सुटिङका सामाग्रीहरु आफैले बोकेर मुस्ताङको अप्ठ्यारो बाटो हिडियो । त्यति बेला निक्कै दुख खेप्नु परे पनि अहिले सम्झँदा रमाइलो अनुभुति हुन्छ ।

#आगामी दिनहरुको योजना के छन् ?
मैले आफ्नो जीवन सिनेमा क्षेत्रमै देखेको छु । बजार हेरेर दर्शकहरुले गरेको कमेन्टहरुबाटै सिकेर भोलीका दिनमा देशप्रेमले भरिपुर्ण सिनेमा बनाउने सोचमा छु । नेपालीले खोजेको, आम नेपालीले मेरो चलचित्र भनेर गर्व गर्न सक्ने चलचित्र बनाउने छु । अभिनयक्रमलाई पनि निरन्तरता दिनेनैछु । साथै बजारलाई यसपछि पोखरासँग मलेसिया र दुबै जस्ता अन्तराष्ट्रिय क्षेत्रमा पनि प्रोमोशनल प्रदर्शन गर्ने उद्देश्य छ । सबैको साथ र माया रहे ‘बजार’ सोचे अनुरुप सफल हुनेमा पक्का छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्