वास्तविकतामा आधारित चलचित्र ‘बजार’

वास्तविकतामा आधारित चलचित्र ‘बजार’

‘राजनीतिबाट आफुलाई पर राख्न चाहने चन्दन नामक युवा परिस्थितीको बन्धक भई राजनीतिको जालमा डुबि शक्तिको रस चाख्न पुग्छ । शक्तिको मात लागि सकेको उ आफुलाई त्यसबाट पर राख्न असमर्थ हुन्छ । राजनीतिक संरक्षणको आडमा अपराधिक संसारमा अधिपत्य जमाएको उसले आफु प्रयोग भईरहेको बुझेसम्म निक्कै ढिलो भई सकेको हुन्छ ।’ यहि सेरोफेरोमा घुमेको छ मंगलबार विराटनगरको हिमालय सिनेमा हलमा प्रोमोशनल प्रदर्शन गरिएको चलचित्र ‘बजार’को कथा । द्वन्द्व निर्देशकबाट पहिलो पल्ट निर्देशन सम्हालेका एनबि महर्जनको भाषामा भन्ने हो भने चलचित्रमा सम्पुर्ण कमर्सियल प्याकहरू प्रयोग गरिएको छ । ‘चलचित्रले वास्तविकता बोलेको छ, सबैले आफ्नै पिडा महसुस गर्न सक्छन्’ महर्जनले भने ‘हुबहु कपि गर्ने जमातले गर्ने काम भन्दा फरक गर्ने प्रयास गरेको छु, टेक्निकल पाटोलाई विशेष ध्यान दिएको छु ।’
‘मानिसका विभिन्न सपना हुन्छन्, कुनै पुरा हुन्छन् त कुनै अधुरै रहन्छन्, आफ्नो सपना र आवश्यकता पुरा गर्न मानिसले नराम्रो बाटो पनि समात्न सक्छ । ’ चलचित्रका नायक तथा निर्माता अर्जुन कार्कीले चलचित्रको नामबारे स्पष्ट पार्दै भने ‘अपराधीक क्षेत्रलाई सहने बजार नै हो , नारीको इज्जत किन्ने पनि बजारनै हो, राजनीतिक खेल यहि बजारमा खेलिन्छ समग्रमा भन्दा बजार आतंकित छ भन्ने वास्तविकता चलचित्रमा देखाउन खोजेका छौ ।’
आफ्नो कार्यक्षेत्रमा सुशासन लागु गर्न सफल मानिएका प्रहरी उपरीक्षक रमेश खरेलको भुमिका समेत चलचित्रमा प्रस्तुत गरिएको छ । रियल पात्र रमेश खरेललाई रिलमा राजेश हमालले उतारेका छन् यद्यपि पब्लिसिटि गरिए झै छोटो भुमिकामा देखिने रिल पात्र खरेलले बोलीबाहेक कुनै चमत्कार नदेखाउदा दर्शकहरू खिन्न हुन्छन् । यस बारे प्रष्ट पार्दै निर्देशक महर्जनले भने ‘कथाको केन्द्रबिन्दु चन्दन भएकाले खरेललाई अघि बढाउदा उ ओझेलमा पर्ने सम्भावना थियो ।’ उनले थपे ‘नेपाली रजतपटलाई विभिन्न समस्याहरूले गाँझेको छ । स्टुडियो, प्रविधि र बजेटको समस्याले गर्दा पनि भने र सोचे जस्तो चलचित्र निर्माण गर्न सकिदैन ।’ ‘दर्शकले नेपाली चलचित्र हेर्दा नेपाली भएर हेरिदिनु पर्छ । यहाँको समस्यालाई नबुझी विदेशी चलचित्रसँग दाँझ्न मिल्दैन’ महर्जनको भनाई थियो । ‘चलचित्र करिब ८० देखि ९० लाखको लगानीमा तयार गरिएको हो’ चलचित्रका नायक तथा निर्माता कार्कीले बताए । कार्कीले मधुकुमार श्रेष्ठसँगको संयुक्त लगानीमा चलचित्र निर्माण गरेका हुन् ।
मार्शल फिल्मस्को ब्यानरमा गत वर्षको भदौमा सम्पुर्ण सुटिङ सकिएको बजार आगामी पौष २९ गते देशभर एकसाथ प्रदर्शन गरिदैछ । ब्रजेश खनालको कथा समेटिएको चलचित्रमा दयाराम पाण्डे र नवराज लम्सालको गित तथा बसन्त सापकोटा र विनोद खुम्बुको संगित रहेको छ । चलचित्रमा अर्जुनसँगै राजेश हमाल, जयकिशन बस्नेत, अरुणिमा लम्साल, मिथिला शर्मा, दिनेश डिसी, सुशील पोखरेललगायतको अभिनय रहेको छ । विराटनगरमा भएको प्रदर्शनीको उद्घाटन हुलास मोटर्सका प्रबन्ध निर्देशक सुरन्द्र गोल्छाले गरेका थिए । करिब ३५० जना सहभागी उक्त शोमा दर्शकहरूले राम्रो चलचित्र बनेको टिप्पणी गरेका थिए । नायक तथा निर्देशक कार्कीले तिहारपछि पोखरामा र त्यस पछि विदेशमा समेत देखाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्