प्रशान्त तामाङ विराटनगरमा

प्रशान्त तामाङ विराटनगरमा

विराटनगर, १५ असोज । भारतीय रियालिटि शो इन्डियन आइडलका तेस्रो संस्करण बिजेता तथा नेपाली सिनेमाका नायक प्रशान्त तामाङ आइतबार विराटगरका आइपुगेका छन् ।सोमबार हुने ‘दशै म्युजिकल हंगामा’मा विराटनगरवासीलाई भरपुर मनोरञ्जन दिन उनी आइतबार साँझ विराटनगर आइपुगेका हुन् । केहि दिन अघिमात्र युरोप टुर सकेर भारत फर्किएका प्रशान्त आइतबार नै कलकत्ताबाट बागडोरा एयरपोर्ट हुदै विराटनगर प्रवेश गरेका हुन् । विराटनगर आएपछि प्रशान्तले होटल रत्नामा पत्रकार सम्मेलन गरि आफु विराटनगरवासीलाई नचाउन तयार रहेको बताए । ‘नेपालीहरुको मायाले म इन्डियन आइडल बन्न सफल भए , अब गितको माध्यमबाट विराटनगरवासीलाई धन्यबाद दिनेछु’ प्रशान्तले भने । उनले आफु यसअघि दुई तिन पटक विराटनगर एयरपोर्ट आएको भएपनि विराटनगरमा प्रस्तुति दिने लगन यसअघि नजुरेकाले विराटनगरमा गाउने सपना थाती रहेको बताए । उनले भने ‘विराटनगरमा गाउन पाउदा एकदमै उत्साहित छु, सबैको सहभागीता पाउने आशा राखेको छु ।’ प्रशान्तले आफुले नेपालका ठुला ठुला कलाकारहरुसँग गाउने अवसर पाएको भएपनि आफुले आइडल मान्ने सुगम पोखरेलसँग यो कन्सर्टमा पहिलो पटक गाउने अवसर पाएकोमा खुसि व्यक्त गरे । उनले भने ‘म सुगम दाईको निक्कै ठुलो फ्यान हो, उहासँग गाउन पाउनु मेरो सौभाग्य हो । ’ पत्रकार सम्मेलनमा उपस्थित नेपाली सिनेमाकी प्लेब्याक सिंगर मनिसा पोखरेलले आफु प्रशान्तसँगै कन्सर्टमा दर्शक तताउन कौतुहल रहेको सुनाईन् । विराटनगरकी स्थानीय उनले भनिन् ‘म विराटनगरकै भएकाले पनि कन्सर्टलाई आफ्नाहरु विच आउने उपयुक्त अवसर ठानेकी छु ।’ पत्रकार सम्मेलनमा प्रशान्त र मनिसा दुबैले गित गुनगुनाएर सुनाएका थिए ।
‘प्रशान्त अहिले युरोप टुरमा छन् भन्ने हल्ला फैलिएको रहेछ, त्यहि भ्रम हटाउन उनलाई प्रत्यक्ष राखेर पत्रकार सम्मेलन गरेका हौं’ साइमन्स कम्पनिका संचालक साइमन राजवंशीले सुनाए । राजवंशीले भने ‘सम्पुर्ण तयारी पुरा गरीसकेका छौ, विराटनगरमा प्रशान्तको पहिलो कन्सर्ट ऐतिहासिक हुनेछ ।’
साइमन्स डान्स कम्पनीले दसैंको अवसर पारेर सोमबार गर्ने कन्सर्टमा प्रशान्तसँगै सुगम पोखरेल, गोपाल नेपाल, मनिसा पोखरेल, स्मृति ब्याण्ड, प्रतिबिम्ब ब्याण्ड, साइमन्स ग्रुपलगायतले प्रस्तुति दिदैछन् । सहिद रंगशालामा गरिने सो कन्सर्टकालागि प्रशान्त र मनिसा आइतबार नै विराटनगर आइसकेका छन् भने सुगम पोखरेललगायत अन्य कलाकार आज सोमबार नै आउने छन् ।
‘कन्सर्टमा सहभागी हुन विराटनगरवासीमा एकप्रकारको उत्साह छाएको छ ।’ साइमन्स डान्स कम्पनिका प्रबन्ध निर्देशक मुमताज खानले बताए । उनले कन्सर्टको करिब ८ हजार टिकट बिक्रि भईसकेको जानकारी दिए । उनले भने‘हाम्रो तर्फबाट सम्पुर्ण व्यवस्था गरिसकेका छौ । कन्सर्ट सफल हुनेमा कुनै शंका छैन ।’
मुमताजले सुरक्षा व्यवस्थाका लागि प्रहरी प्रशासनसँग अनुरोध गरेको र टंकिसिनवारीको शसस्त्र गण, जोगवनी नाका सुरक्षा पोस्टबाट समेत सहयोग पाउने आस्वासन पाएको जानकारी दिए । कन्सर्टमा कुनै अप्रिय घटना वा अपराधिक क्रियाकलाप नहोस् भन्नका लागि स्वयम्सेवक, सुरक्षा गार्ड तथा प्रहरीका जवानहरु तैनाथ गरिने उनको दाबी छ ।
‘कन्सर्टमा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीको उपस्थिति रहने छ’ मुमताजले बताए  । करिब एक बजे सुरु हुने भनिएको कन्सर्टमा युवा युवतीहरुको बाक्लो उपस्थिती रहने आशा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्