प्रशान्तले नचाए विराटनगरलाई, समस्याहरुबिच कन्सर्ट सफल

प्रशान्तले नचाए विराटनगरलाई, समस्याहरुबिच कन्सर्ट सफल

विराटनगर, १६ असोज । दिउसो १ बजे सुरु गरिने भनिएको कन्सर्टको चार कटिसक्दा पनि कुनै सुरसार गरिएन । चर्को घामबिच युवाहरुको बाक्लै जमात विराटनगरको शहिद मैदानमा उर्लेको थियो । दिक्क मानी धेरैको फर्किने क्रम सुरु भई सकेपछि करिब साढे चारबजे साइमन राजवंशी चढे स्टेजमा र प्रमुख अतिथी मोरङका प्रमुख जिल्ला अधिकारीलगायतलाई अतिथिको आसन ग्रहण गराए । अनि स्टेज समाले गोपाल ले
नेपाल फिस्टेले । बल्ल स्टेज तातियो र क्रम चल्यो नृत्य अनि गायनको । सुरुमा साइमन्स डान्स कम्पनीका बालबालिकाहरुले राष्ट्रभक्तिपूर्ण नृत्य देखाए । विराटनगरकै स्थानीय ब्यान्ड प्रतिबिम्बको पालोमा पनि धेरै उफ्रिए । प्रतिबिम्बपछि साइमनका कलाकारहरुले नृत्य देखाए । त्यस पछि स्मृती ब्यान्डले आफ्नो नयाँ एल्बमको ‘सालै ज्यु....’ प्रस्तुत गर्दा फ्लोर पुन जुर्मुराएर उठ्यो । स्मृतीले आफ्ना चर्चित गित ‘आमा.....’पनि सुनाए ।
सोमबार साइमन्स डान्स कम्पनीले विराटगरमा आयोजना गरेको ‘दसैं म्युजिकल हगांमा’मा अन्यको प्रस्तुतिहरु बिच प्रतिक्षा थियो तेस्रो इन्डियन आइडल तथा नेपाली सिनेमाका नायक प्रशान्त तामाङ कै । प्रतिक्षालाई थाति राख्दै उद्घोषक गोपाल नेपाल फिस्टेले नेपाली प्लेब्याक सिंगर मनिशा पोखरेललाई बोलाए । उनले पनि आफ्ना केहि गित सुनाएर विदा भए पछि आए सुगम पोखरेल । सुगमले आफ्ना नयाँ तथा पुराना गितहरु सुनाउदा दर्शकहरुले बेजोड साथ दिए । दर्शक तताउन माहिर सुगमले मेरो एउटा साथी छ...., एक्लै उदास किन.....लगायतका गित सुनाए ।
लामो प्रतिक्षा पछि स्टेज चढे प्रशान्त तामाङ । उनले विराटनगरलाई अरे क्यानाम..., काठमाडौ सहर, भिगे होठ तेर.... जस्ता चार गित सुनाए । प्रशान्तका गित पछि शान्ति सुरक्षाको कारण देखाउदै आयोजकले कन्सर्ट समाप्तीको घोषणा गर्यो ।
विराटनगरमा पहिलो पटक प्रशान्त तामाङ आएको कन्सर्ट रमाइलोसँगै विवाद र समस्याबाट पर भने भएन । आयोजककाको फितलो व्यवस्थापनको कारण कन्सर्ट निर्धारित समयभन्दा करिब साढे तिन घण्टा पर सरेको थियो भने कन्सर्ट अघि १५ हजार दर्शकको ओइरो लगाउने दाबि गरेका आयोजकले दुई हजार दर्शकको उपस्थितिसमेत जुटाउन सकेनन् । कार्यक्रममा अन्य कलाकारहरुलाई सम्मान गर्दा आफुहरुलाई वेवास्ता गरिएकोमा स्मृति ब्यान्डले असन्तुष्टि जनायो । अन्य कलाकारहरुको लागि विशेष स्थान र अन्य सुविधाको व्यवस्था गरे पनि आयोजकले स्मृति ब्यान्डलाई त्यस्तो सुविधा उपलब्ध गराएको थिएन । नेपाल कै चर्चित ब्यान्डहरुको लिस्टमा पर्ने विराटनगरको स्मृति ब्यान्डका लिड भोकलिष्ट ज्योति सुब्बाले भने ‘विराटनगरको ब्यान्ड भनेर वेवास्ता गरे । स्थानीय भनेर हेप्ने प्रवृत्तिको फलत यस्तो भएको हो ।’ स्मृतिले असन्तुष्टि ब्यक्त गरेपछि आयोजकले आफुबाट गल्ति भएको स्विकारेका छन् ।
कार्यक्रमको व्यवस्थापन पक्ष जस्तो भएपनि साँगितिक पक्ष भने सबलनै रह्यो । सुगम पोखरेल, प्रशान्त तामाङ, मनिशा पोखरेल, स्मृति ब्यान्ड, प्रतिबिम्ब ब्यान्डले विराटनगरलाई उफारेरै नचाए । पहिलो पटक विराटनगरमा प्रस्तुति दिएका प्रशान्तले आफु विराटनगरमा गाउन पाउदा एकदमै उत्साहित भएको बताए । उनले भने ‘विराटनगरमा राम्रा दर्शक रहेछन्, मलाई गरिदिनु भएको मायाका लागि सबैलाई धन्यबाद’ । प्रशान्तले यस कन्सर्टबापत लिएको सम्पूर्ण रकम सिक्किमका भुकम्प पिडितको लागि खर्च गर्ने बताए । अबको दसैं परिवारसँग विताउने इच्छा प्रकट गर्दै प्रशान्तले भने ‘मलाई आमा र श्रीमतिले कुरिरहेकि छिन्, अब दसैं उहाँहरुसँगै मनाउछु , परिवारलाई पनि समय दिनै पर्यो ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्