भारतले वास्ता नगरेको होइन :प्रशान्त तामाङ

भारतले वास्ता नगरेको होइन :प्रशान्त तामाङ

 

 

भारतमा इन्डियन आइडल हुने अरु गायकहरु भारतमै स्थापित भएका छन् तपाईं भने नेपाल आउनुभयो, भारतले वास्ता नगरेको हो ?
अरुले जे गरे मैले पनि त्यही गर्नुपर्छ भन्ने छैन । म नेपालमा खुसी छु । यहीं रमाएको छु । नेपाली दर्शक र स्रोताले मेरा गीत र अभिनय मन परेका छन् । आफूलाई माया गर्ने मान्छेहरु भएको ठाउँमा काम गर्न मलाई राम्रो लाग्छ । भारतले वास्तै नगरेको पनि होइन । वास्ता नगरेको भए मलाई इन्डियन आइडलमा लिँदैलिँदैन थिएँ, लिए पनि जित्न दिँदैन थिए । मलाई थाहा छ, करोडांै भारतीयहरुमध्ये कसैकसैले वास्ता नगरे पनि धेरैले माया गर्छन् ।

आफूलाई कुन रूपमा चिनाउन चाहनुहुन्छ ? नायक कि गायक ?

म गायक नै हु । मेरो परिचय पनि यही हो । नायकको रूपमा काम गरे पनि गायक भएरै चिनिन चाहन्छु ।

सिपाहीं प्रशान्त र सेलिब्रेटी प्रशान्तमा के भिन्नता छ ?

सिपाहीं प्रशान्त एक साधारण व्यक्ति थियो अहिले सेलिब्रेटी हुँदा धेरैले चिनेका छन् । माया गर्नेहरु थपिएका छन् । यति धेरैको मायासँगै सबैको अपेक्षा पनि म माथि छ । अघिल्लोभन्दा पछिल्लो काम राम्रो गर्नुपर्ने कुराले मलाई सधंै राम्रो काम गर्ने दबाब दिइरहेको हुन्छ ।

जीवनको त्यस्तो कुनै पल जुन नघटिदिएको भए हुन्थ्यो भन्ने लागेको छ ?
म ८ वर्षको हुँदा मेरो बुबाको मृत्यु भएको थियो । आज सोच्छु यदि बुवा नबितेको भए मेरो प्रगति देखेर कत्ति खुसी हुनुहुन्थ्यो होला ।

दोहोर्याउन मन लागेको पल ?
मेरो स्कुल जीवन म फेरि एकपटक दोहोर्याउन चाहन्छु । ती दिन मलाई पुनः बाँच्न मन छ ।

केही समयअघि विवाह गर्नुभयो, विवाहपछि जीवन कत्तिको परिवर्तन हुँदोरहेछ ?

हजुर, मैले केही समयअघि एयर होस्टेज मार्फा (गीता) आलेसँग विवाह गरेको हुँ । विवाहपछि मेरो जीवन धेरै नै परिवर्तन भएको छ ।  जिम्मेवारीहरुसँगै जीवनको महत्व पनि बढेको छ । विवाहपछि दुःखसुख बाँड्ने साथी पाइएको छ । आफूले सोचेको व्यक्तिसँगै विवाह भएकाले पनि विवाह गरेर राम्रो लागेको छ ।

तपाईंहरु दुवैजना व्यस्त हुनुहन्छ ? व्यस्तताबीच कस्तो छ दाम्पत्य जीवन ?
हामी दुवैको आफ्नै काम भए पनि एकअर्काबीच राम्रो अन्डरस्ट्यान्डिङ छ । एकले अर्कालाई राम्रोसँग बुझेकाले व्यस्तताले दाम्पत्य जीवनमा कुनै असर गरेको छैन । रमाइलो गर्नुपर्ने समयमा रमाइलो गरेकै हुन्छौ  ।

एकअर्कालाई बोलाउँदा के भनेर बोलाउनु हुन्छ  ?
हामी दुवैले एकअर्कालाई माया गरी बोलाउँदा छुट्टै नामले बोलाउँछौ । म उनलाई ‘बेबि’ भन्छु उनी चाहिं मलाई ‘मोमो’ भन्छिन् ।

   सन्तानको योजना बनाउनुभएको छैन ?
अहिले त त्यस्तो सोचेकै छैन । तत्काल सन्तानको आशा हामी दुवैले गरेका छैनौं । कति पछि हुन्छ भन्न गाह्रो छ ।

आगामी दिनका योजनाहरु के छन् ?
यसअघि हामी आ–आफ्नै काममा व्यस्त भयौं । अब केही समय परिवारका लागि छुट्याउने प्रयास गर्नेछु । सिक्किमका भूकम्पपीडितहरुको सहयोगमा पनि केही गर्ने इच्छा छ । त्यसका लागि विभिन्न स्थानमा सो पनि गरिरहेको छु । यससँगै आफ्नो नयाँ एल्बम ‘आस्रीति’को तयारी चल्दैछ । २०१२ मा उक्त एल्बम रिलिज हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्