नवराज सुब्बाको नयाँ एल्बम आँउदै

नवराज सुब्बाको नयाँ एल्बम आँउदै

यस अघि दुईवटा साङ्गीतिक एल्बमहरू देशभक्तिपूर्ण गीत र गजल एल्बम बजारमा ल्याइसकेका गीतकार नबराज सुब्बा चाँडै नै ‘अमूल्य जीवन’ नामक गीति एल्बम लिएर आउँदैछन् ।
‘देशको माया’ देशभक्तिगीत र ‘लुकेको रहर’ नामक गीति एल्बम पछि यो उनको तेस्रो गीति एल्बम हो । यस एल्बममा जम्मा नौवटा गीतहरू संग्रहित छन् । जसमा नबराज सुब्बाको एकल शब्द रचना, एउटा गीतमा संगीत र अर्को एउटा गीतमा स्वर पनि आफैले दिएका छन् । वि.स. २०३२/३३ साल देखि २०६७ सालभित्र रचना गरिएका गीतहरू समाविष्ट भएको उनको भनाई छ । ‘गीतकारको उमेरका हिसाबले बाल्यकाल, युवाकाल र वयस्ककाल खण्डमा लेखिएका रचनाहरू यसमा संग्रहित गरिएका छन्’–सुब्बाले भने ।
एल्बममा नेपाली सङ्गीत क्षेत्रमा स्थापित गायक सूर्य थुलुङ, नरेन्द्र प्यासी, सुमित खड्का देखि नवोदित गायक गायिका डी.बी.राई, सुनिता लिम्बूले कर्णप्रिय स्वर भरेका छन् । त्यसमा साजन राईले पाँचवटा गीतहरू संगीतबद्ध गरेका छन् भने तीनवटा गीतमा स्वर समेत भरेका छन् ।
‘अमूल्य जीवन’ को पहिलो साङ्गीतिक प्रस्तुती रहेको छ– सहिदलाई सलाम । युवा संगीतकार तथा गायक साजन राईले यसमा संगीत र स्वर दिएका छन् । एल्बमको दोस्रो गीत अर्थात् युवागीतको सिर्जना प्रसङ्ग पनि केही रोचक नै रहेको छ । सुमित खड्काले गाएको यो गीत आम युवाको लागि सन्देशमूलक र जीवनदायक छ । एल्बमको शिर्षक पनि यही गीतको भावलाई पनि समेट्ने गरि छानिएको छ ‘अमूल्य जीवन’ भनेर । ‘अमूल्य यो जीवनलाई नफालौं है खेर, दुव्र्यसनलाई चिनेर टाढै बसौं हेर’ । एल्बममा तेस्रो गीत रहेको छ ‘ए बहार तिमीसंग हाँसू हाँसू लाग्छ, आँशु पुछि तिमीसंग नाचूँ नाचूँ लाग्छ’ । ‘यो गीत सम्भवतः मेरो जीवनको पहिलो गीत रचना हो’–सुब्बाले भने ‘गीत मैले २०३२/३३ सालतिर १३/१४ वर्षको उमेरमा त्यस्तै ८/९ कक्षामा पढ्दाखेरि रचना गरेको थिएँ ।’ उक्त गीतलाई नवोदित तर प्रतिभाशाली गायिका सुनिता लिम्बूको स्वरले सजिएको छ । ‘अमूल्य जीवन’ मा रहेको चौथो गीतको स्थायी यस्तो छ ‘सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ, नमिलेको एउटा प्रश्न सोध्न मन लाग्छ’ । उक्त गीतमा गायक नरेन्द्र प्यासीको स्वर छ । ‘अमूल्य जीवन’ एल्बममा रहेको पाँचौ गीत छ ‘सिमलको भुवासरि उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान’ । अमूल्य जीवन एल्बमको छैटौं गीत ‘फूलभित्र लुकि घोच्ने काँडा खोज्दैछु, बैगुनीलाई गुनले जित्ने माया रोप्दैछु’ । अलि पपशैलीको संगीत र स्वरमा युवाहरूलाई लक्षित गरेर तयार पारिएको यस गीतको संगीतकार धीरज श्रेष्ठ र गायक डी.बी.राई हुन् । अमूल्य जीवन एल्बमको सातौं गीत पनि छैटौं गीतझैं युवावर्गलाई लक्षित गरिएको गीत हो । ‘सागर भन्दा गहिरो भयो हाम्रो माया, सगर भरि फैलियो चोखो हाम्रो माया’ । आठौं गीत पंचायतकालमा रचेको गीत हो भन्छन् सुब्बा । ‘त्यसबेलाको राजनीतिक अवस्थामा पिल्सिएको तनलाई तथा प्रेममा छट्पटाएको मनलाई एकसाथ लत्पत् पार्दै मैले रचना गरेको गीत हा’–सुब्बाले भने । ‘विवशताले बाँधिएको मान्छेको जीवन, पिँजडाभित्र छट्पटिरहने मैनाझैं यो मन’ । जसलाई सूर्य थुलुङले संगीत र स्वर दिएका छन् ।
एल्बमको नवौं तथा अन्तिम गीतमा नबराज सुब्बा आफ्नै स्वर संग्रहित छ । यो गीति एल्बम आगामी माघ १६ गते शहिद दिवसको अवसर पारेर सार्वजनिक गर्ने तयारी भइरहेको सुब्बाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्