हे भगवान्! एकै दिनमा केके देखायौ ?

हे भगवान्! एकै दिनमा केके देखायौ ?

[caption id="attachment_8338" align="alignleft" width="300"]commision-token-of-ramlal-golchha-eye-hospital-biratnagar कमिसन टोकन : बिरामी ल्याए वापत रिक्सावालाले यो प्राप्त गर्छन् जसलाइ अस्पतालले पैसामा साटिदिने गरेको छ ।[/caption]

केहि दिनदेखि आँखा झम्झमाइ रहेथ्यो । 'विराटनगरमा सबैको आँखा पाक्न थालेको छ' भन्ने खबर बारम्बार दिउसो कार्यालय आउनेहरुले सुनाइरहेकाले डर लागेर आयो,  आइतबार बिहानै रामलाल गोल्छा आँखा अस्पताल पुगे । पुर्जा काट्न ४० रुपैया लाग्ने रहेछ ५० को नोट दिए । 'खुद्रा छैन फर्किदा १० रुपैया लिनु' भनेर काउन्टरमा बस्नेले पुर्जा पछाडी सानो अक्षरले १० लेखेर गोलो लाइदिए । म अघि एक जनालाइ नि ६० रुपैयाको गोलो लाको देखेंथे, मेरो त कम हो सोचर पुर्जा अनुसार टोकन लिन पुँगे, '२४५' भन्दै टोकन काउन्टरबाट मलाइ टोकन दिइएर नजिकैको बेन्चमा बस्न इसारा गरियो । म लगत्तै एक भाइ आएर काउन्टरमा हाँस्दै नमस्कार गरे ।  उनलाइ त्याँबाट '२४२' भनेर टोकन दिदाँ मेरो २४१ हो कि भनेर काउन्टरमा सोधे । 'होइन २४५ हो तपाइको' , 'अनि म पछिको भाइले २४२ को कसरी पायो ?' मैले सोधे । 'उ विद्यार्थी हो त्यसैले मैले राख्द्या थिए' म ट्वाल्ल परें, बोल्नुको अर्थ नभएपछी चुप लाग्नुको बिकल्प हुदैन । टोकन नम्बर १९३ बाट बढ्दै जाँदा ४० मिनेट जसो पछि मेरो पालो आउन लाग्याथ्यो बिचमा एक कर्मचारीले एउटी आफन्त ल्याएर पसाइन् । त्यै बेला नोटिस बोर्डले मेरो नम्बर डिजिटल अक्षरमा देखायो । म भित्र पस्न खोजें । ति कर्मचारीले 'एकछिन्' भनेर रोकिन् । मैले आफ्नो पाली भएको बताउदै गर्दा वास्तै नगरी आफन्तलाइ चेकअप गर्ने कुर्सीमा बस्न इसारा गरिन् । म प्रतिवाद गर्न खोज्दै थें, सुने नसुनेको गरेछि फेरी अर्थ छैन भनेर आँफैलाइ रोकें ।

दृष्टि जाँचमा पास भएँ, प्रस्ट देख्ने रहेछु । पुर्जामा दृष्टि स्कोर ६/६ कोरेर जाँच गर्नेले ७ नम्बर कोठा तिर पठाए । लुरुलुरु ७ नम्बर कोठा पस्न लाग्दा एक वृद्ध कर्मचारीले तानेर रोके । 'उ त्याँ लाइन छ बस्नुस्' । भित्र हेरें कोहि छैन, 'डाक्टर खोइ त ?', 'खाजा खान जाजुभाको छ' भन्दै उनले फेरी बेञ्च तिर इसारा गरे । पुर्जा हातमा लिएर बेञ्चमा बसिरहदा एक व्यक्ति फेरी डाक्टरको कोठा तिर पस्न लाग्दा ति बृद्ध कर्मचारीले मलाइ जसरीनै बेञ्चको लाइन देखाए । 'यस्तो नि लाइन हो ?' उ मुर्मुरीदै आयो ।  चुट्टिएर डोरीले बाँधेको फ्याट्फ्याटे चप्पल । केहि ठाँउमा फाटेको गञ्जी अनि खैरो हाफ पाइन्ट लाएको २८ / ३० वर्षको उ कानै नजिक आएर नबुझिने गरि बरबराइ रह्यो । मैले चुप लाग्न इशारा गरें । उ केहि बेर शान्त भयो फेरी बरबराउन थाल्यो 'पैले दिदैन थियो । ऐले एकटा बिमारीलाइ रिक्सामा ल्याको १ सय पचास रुपें दिन्छ हामीलाइ.... साला सब गरिबक चुस्छ ... नत्र काँ बाट दिन्छ त्यति पैसा हामी रिक्सावालालाइ ?', मलाइ उसको कुराले चाख लाग्यो 'तपाइ रिक्सावाला हो ?' सोधे 'हो... हामी नै बिमारी ल्याइदिन्छ हामीलाइ नै पस्न दिदैन साला हरु । गरिबक चुस्न बसेको छ सब । यि हेर्नु यस्तो पुर्जा दिन्छ बिरामी ल्याको ..'उनले गोजीबाट कमिसन पुर्जा निकालेर देखाए (हेर्नुहोस् तस्विर) । पुर्जामा रिक्सा नम्बर मिति र बिरामी संख्या लेखिएको थियो । 'यो हो दर्बानको चिन्ह' गेट पालेले गरेको हस्ताक्षर देखाउदै उनले भने 'यो लगेर गयो भने माथीको कोठामा भजाइ दिन्छ । एकटा बिमारीको १ सय पचास' उनी अझ आक्रोशमा आए 'मु* हरु गरिबलाइ चुस्छ । हामीलाइ दिने पैसा सब बिमारीसँग उठाउछ... ।',  'आँफै पैसा लिने अनि हल्ला गर्ने ?' सोधि हाले 'बिमारी यैं आउछू भन्छ म ल्याउछु, पैसा लिन्छु के छ ? मलाइ पनि त पैसा चायो' । ढोका तिर हेरें अझै डाक्टर आइपुगेका थिएनन् । 'कसरी थाहा पाउछ तपाइले बिरामी ल्याको भनेर?' प्रश्न गरें । उनी उत्साहित र आक्रोशमा थिए 'बिमारी लाको दर्बानले देख्छ अनि रिक्साको नम्बर र बिमारी कति छ लेखेर चिट दिन्छ, तेसैलाइ माथी भजाउछु' । दुइ जना डाक्टर कोठा भित्र पसे लगतै हामी अघीका ५ जनालाइ तिनै कर्मचारीले कोठा भित्र जान इशारा गरे । मैले उनलाइ यो पुर्जाको फोटो खिच्छु है भनें , 'लिनुस् चोरहरुको देखाइ दिनुस्' उ सहजै तयार भए 'मेरो नाम नभन्नु फेरी मलाइ पैसा दिदैन' उसले सतर्क गराए हुन्छ, भनेर मैले टाउको हल्लाएँ । मैलै फोटो लिदा उ तानिएर कस्तो फोटो आयो भनेर स्क्रिन तिर हेर्दै थियो । लगतै ति बृद्ध कर्मचारीले थप ५ जना बिरामी बोलाए जसमा म पनि परें । आँखा पाक्न भर्खर सुरु भा रहेछ, 'चिसो पानीले आँखा सफा गर्नु' भन्दै केहि औषधी लेखिदिए । दिमागमा कमिसनको पुर्जा खेलाउदै अस्पतालबाट निस्किए । 'ज्या! फिर्ता १० रुपैंया त लिनै विर्षे छु' निक्कै पर पुगे पछि सम्झिए 'होस् काउन्टरवालाको आजको सयौं बोनस आम्दानीमा मेरो पनि केहि हिस्सा जोडियो' ।

सरोज कार्कीको ब्लग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्