तिमीले मेरो लागि लेखेको प्रेम पत्र -अनुशा न्यौपाने

तिमीले मेरो लागि लेखेको प्रेम पत्र    -अनुशा न्यौपाने

anusha

आज मैले,
एउटा पत्र भेट्टाए
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र भेट्टाए
एउटा पुरानो किताब को बिचमा
सजिएका तिम्रा हृदयका शब्दहरु
तिम्रा मनका भावनाहरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र   ।।।

त्यहि किताब ,
जुन तिमीले मेरो जन्मदिनमा
मलाइ उपहार दिएका थियौ
त्यहि किताब ,
जुन मैले काम नलाग्ने भनेर
कुनामा हुत्याएकि थिएं
हो , त्यहि किताबमा रहेछ
तिम्रा मनका भावना हरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।।

सम्झनामा आए
तिमीसंग बिताएका
ति  पल अनि क्षण हरु
सपना जस्तै
आहा! कति सुन्दर !
तिमीलाई मेरा प्रेमका इशाराहरु
कहिलै ब्यक्त गर्न नसकेका
मेरा मनका भावना हरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।।

पर्खिरहे मैले
तिम्रो प्रेम प्रस्ताब
अनि मायालु स्पर्स
सोचेकी थिए
मेरो मात्र  एकतर्फी माया होला
तिम्रो जीवनमा अटाउन म नसकुला
बुझिन मैले
तिम्रा मन का भावनाहरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।।

धेरै पटक
सोध्यौ तिमीले
किताब पढ्यौ ???
पढीसके भनेर ढाटे मैले
के थाहा तिमीले त
प्रेम प्रस्तावको जवाफ खोजेका रहेछौ
आफैमा ढाटिएं म  चिन्न सकिन मैले
तिम्रा मनका भावनाहरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।।

आज धेरै वर्ष पछी
तिम्रो प्रेम प्रस्ताब पाएर
हर्षित छ मन
मेरो प्रेम एकहोरो थिएन
दुखि छ मन
मैले तिमीलाई पाउन सकिन
बुझेनौ तिमीले मेरा इशाराहरु
बुझिन मैले  तिम्रा मनका भावनाहरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।।

आज अनायासै
निभिसकेको मायाको दियो
फेरी बलेको छ
तर अफसोच ,
हाम्रो बाटो धेरै अगाडी नै
छुट्टीसकेको रहेछ
माफ गरिदेउ मलाइ
पढीन किताब भेटिन प्रेमपत्र
तिम्रा हृदयका गुन्जन हरु
तिमीले मेरो लागि
लेखेको प्रेम पत्र  ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्