तीन सातापछि आइप्याड नेपालकै बजारमा

तीन सातापछि आइप्याड नेपालकै बजारमा

तीन सातापछि नेपालमा आइप्याडको आधिकारिक रुपमा बिक्री सुरु हुने भएको छ। ३५ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म पर्ने आइप्याड नेपालमै किन्न सकिने भएको हो।

एप्पलले उत्पादन गर्ने विभिन्न मोडल र क्षमताका गरी ४० खाले आइप्याड नेपाली बजारमै उपलव्ध हुने जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि (जेननेक्स्ट)ले जनाएको छ। जेननेक्स्ट नेपालको लागि अमेरिकन स्मार्टफोन निर्माता एप्पलको बिक्रेता हो।

जेननेक्स्टका प्रबन्ध निर्देशक पवनकुमार भिमसरियाका अनुसार सन् २०१५ को जनवरी तेस्रो सातादेखि आइप्याड बिक्री सुरु हुनेछ। उनले भने, ‘एप्पलले आइप्याडको मोडलहरु धेरै निकालेको छ। यी सबै नेपालमा ल्याएर बिक्री गर्छौं।’ यो कम्पनीले आइफोनका पछिल्ला मोडलहरु बिक्री थालिसकेको छ।

एप्पलको उत्पादनहरु विश्वमा महँगा मानिन्छन्। तर अन्य देशको तुलनामा नेपालमा नै किन्दा सस्तो पर्ने दाबी भिमसरियाको छ। उनका अनुसार आइफोन र आइप्याड हङकङ, सिंगापुर र दुबइमा भन्दा सस्तो पर्छ।

उनले भने, ‘एप्पलले नेपालका लागि भनेर विशेष मूल्यमा आफ्ना उत्पादन बेचेको छ।’

सबै प्रडक्टमा एक वर्ष वारेन्टी जेननेक्स्टले आफूले बेच्ने एप्पलका सबै उत्पादनमा एक वर्ष वारेन्टी दिने जनाएको छ। भिमसरियाका अनुसार ती उत्पादनहरु पानीले भिजेमा र टुटेफुटेमा भने वारेन्टी दिइने छैन। उनले भने, ‘एप्पलले नै वारेन्टी दिने होइन। तर नेपालीहरुले एप्पलको उत्पादनमा देखाएको चासोले गर्दा हाम्रै कम्पनीले एक वर्षसम्म वारेन्टी दिनेछ।’

यसैगरी एप्पलले आफ्नै सर्भिस सेन्टर मार्फत नि:शुल्क सेवा दिने जनाएको छ। तर यो सेन्टरमा जेननेक्स्टबाट बेचिएको मोबाइल मात्रै सर्भिसिङ गरिनेछ। उनी भन्छन्, ‘विदेशबाट फोन ल्याउँछन्। अनि तपाइँको सर्भिस सेन्टर छ रे बनाइदिनु पर्योफ भन्दै आउँछन्। तर हामीले बेचेका मोबाइलबाहेक अरु सर्भिसिङ गर्दैनौँ।’

भिसरियाले नेपालमा आइफोन सिक्स र सिक्स प्लसमा आकर्षण रहेको बताए। सुरुमा ल्याउँदा यस्तो महँगो फोन कसले किन्ला र भनेर सोच्ने उनी अहिले अर्डर र बुकिङ गरेको देख्दा अचम्मित छन्।  उनका अनुसार आइफोन सिक्स र सिक्स प्लसमा पनि एकसय २८ जिबीको स्टोरेज क्षमता भएको आइफोन किन्नेहरु बढेका छन्। यी महँगा सेरिजमा पर्छन्।

उनले भने, ‘कम स्टोरेज क्षमताको भन्दा पनि बढी क्षमताको खोज्ने बढेका छन्।’ उनका अनुसार कर्पोरेट अफिस, युवा पुस्ता र बैंकरहरुले आइफोन सिक्स र सिक्स प्लस रोजेका छन्।‘

भिसरियाका अनुसार आइफोन सिक्स १६ जिबीको ८२ हजार नौ सय पर्छ भने एकसय २८ जिबीलाई एक लाख दुई हजार नौसय ९९ रुपैयाँ पर्छ। यसैगरी प्रालिले सिक्स प्लसको १६ जिबीलाई एकलाख दुई हजार नौ सय ९९ र एकसय २८ जिबीलाई एकलाख १७ हजार नौसय ९९ रुपैयाँ तोकेको छ। आइफोन सिक्स र सिक्स प्लस एनसेल, इबो र फ्युचर वर्ल्ड्ले बिक्री गर्दैं आएका छन्। यी फोन पनि तीन रंगमा उपलब्ध छन्।

प्रालिले नेपालमा यसअघि आइफोन सिक्स र सिक्स प्लसको बिक्री सुरु गरिसकेको भए पनि आइफोन फाइभ एस भने सोमबारबाटमात्र बिक्री थाल्यो। नेपालमा अवैध तरिकाले आइफोनको बिक्री भइरहेको भए पनि वैध तरिकाले भने जेननेक्स्टले बेच्न सुरु गरेको भिमसरियाले बताए।

उनले भने, ‘नेपालमा आइफोन नआएकै होइन। कि ग्रे मार्केटबाट आएका थिए। कि त आफ्ना आफन्तले विदेशबाट पठाएका मात्रै चलेका थिए। तर अहिले हामीले आधिकारिक रुपमा बिक्री सुरु गरेका छौँ।’ आइफोन फाइभ एस १६ जिबी स्टोरेज क्षमता भएको मात्रै बिक्री गरिएको उनले बताए। ३२ र ६४ जिबी स्टोरेज भएको आइफोन हाललाई बिक्री गरिनेछैन।

नेपालमा यसको मूल्य भ्याट सहित ६९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ। ‘आइफोन फाइभ एस तीन रंगमा उपलब्ध छ - गोल्ड, सिल्भर र ग्रे कलरमा उपलब्ध छ,’ उनले भने, ‘हाम्रो रिसेलरहरु इबो र फ्युचर वर्ल्डले यसको बिक्री सुरु गरेका छन्।’

एप्पललाई आठ हप्ता अघि नै दुईसय मोबाइल सेट अर्डर गरेर नेपाल ल्याइएको भिसरियाले बताए। उनले भने, ‘हामीले भन्ने बित्तिकै एप्पलले भनेजति मोबाइल सेट दिँदैन। आठ हप्ता अघि नै अर्डर गरेपछि बल्ल सामान पठाउँछ।’

जेननेक्स्टले मध्यम वर्गीय ग्राहकलाई लक्षित गरेर आइफोन फोर एस पनि ल्याउन लागेको छ। १६ जिबीको स्टोरेज भएको आइफोन फोरएस ३५ हजार रुपैयाँ तोकिएको छ। यो १३ प्रतिशत भ्याट बाहेकको मूल्य हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्