एकतर्फी प्रेमको कथा

एकतर्फी प्रेमको कथा

 

धेरैलाई लाग्न सक्छ, एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो ।
आजभोली बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराई कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्तैन । यहि अबुझकै कारण उनीहरुको प्रेम सफल हुँदैन ।
यसलाई एउटा सानो कथाबाट बुझाउने प्रयास गर्दैछु...
प्रसङ् राधा–कृष्णको हो । जब कृष्ण गाई चराउन जंगलमा जान्थे, एक सुरमा बाँसुरी बजाउँथे । बाँसुरीको प्रगाढ धुन जंगलको घनत्व चिर्दै राधाको घरसम्म पुग्थ्यो । जब यो धुन राधाको कानमा पुग्थ्यो, उनी अचेतझैंं बाँसुरीको धुनमा लठ्ठीदै जंगलमा पुग्थिन् । कृष्णको नजिकै पुगेर आँखा चिम्म गरेर धुन सुनिबस्थिन् । धुनसँगै राधाको आँखाबाट आँशु पनि बग्न थाल्थ्यो । यो क्रम कहिलेकाहिँ घन्टौसम्म चलिरहन्थ्यो ।
एक दिन कृष्णले राधालाई सोधे, ‘राधे, तिमी किन यसरी बेला कुवेला यहाँ आउँछौ ? तिम्रो घरमा कति काम हुन्छ, सधैं यसरी आउनु राम्रो पनि होइन ।’
‘तिम्रो धुन सुनेपछि म अरु केही गर्नै सक्तिन । तानिदै तिमी नजिक आइपुग्छु ।’ राधाले भनिन्, म तिम्रो धुनमा कसरी बाँधिन्छु, मलाई नै थाहा हुन्न ।’
‘त्यस्तो के छ र मेरो बाँसुरीको धुनमा ?’
‘काले, तिमी यो प्रेम र यसको विरह कहिल्यै बुझ्न सक्तैनौ ।’ राधाले भनिन्, ‘यसको लागि तिमी राधा नै हुनुपर्छ ।’
‘अन्यथा नलेऊ राधे... ।’ कृष्ण्ले हास्दै भने, ‘तिम्रो यो अवस्था देखेर मलाई रमाइलो पो लाग्छ । तिम्रो यो भावको भाषा बुझ्न म असमर्थ छु ।’
‘हाँस र रमाइलो पनि मान ।’ राधाले रुदैं भनिन्, ‘कुनै दिन तिमीले पनि मैले जस्तै कसैलाई प्रेम गर्नेछौ त्यो बेला मेरो पीडा महसुस गर्नेछौ ।’
त्यसपछिको कथा त धेरैलाई थाहा छ । कृष्णले बृन्दाबन छाडे । यसरी छाडे फेरी कहिल्यै फर्केर आएनन् । राधाले जीवनभरी कृष्णलाई प्रेम गरिन् । कतिसम्म प्रेम गरिन् भने उनी जुन बाटोबाट गोकूल गएका थिए त्यो बाटोमा उनले टेकेको एउटा पाइलामा उनले सधैं पूजा गरिरहिन् ।
एक दिन जब कृष्णले रुक्मिणीलाई देखें, त्यो एक नजरमा कृष्णलाई प्रेम भयो । त्यो बेला उनले राधालाई सम्झिएका थिए । तै पनि कृष्णले राधाले जस्तो भावपूर्ण प्रेमको महसुस कहिल्यै गर्न पाएनन् । कारण उनले रुक्मिणीसँग विवाह गरे । प्रेम नपाउनु र विछोडिनुको पीडा उनलाई थाहा भएन ।
आज पनि एकोहोरो प्रेमीको आदर्श पात्र हुन् राधा ।
राधे, यो झरीलो मौसममा तिमीलाई सम्झिरहेको छु । तिम्रो पीडा महसुस गरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्