कुशल व्यवस्थापनसहित नयाँ राजनीतिक दल उद्धार र राहतमा

कुशल व्यवस्थापनसहित नयाँ राजनीतिक दल उद्धार र राहतमा

काठमाडौँ, ज्ञानेश्वरका संविधान आचार्य, २८, विनाशकारी भूकम्पमा आफ्नो मामाघर भत्किएको खबर सुन्नासाथ १२ वैशाखमै रसुवा, लहरेपौवा–२ जान हतारिए । तर, उनीसँग न त्रिपाल, चामल, चिउरा, चाउचाउजस्ता राहत सामग्री थियो, न त एक्लै रसुवा जाने अवस्था । लहरेपौवामा थुप्रै घर क्षतविक्षत हुनुका साथै सयौँ गाउँले खुला आकाशमुनि रात गुजार्न अभिशप्त भएको खबरले आहत भएका उनले उद्धार र सहयोगका लागि भोलिपल्टै सरकारी कार्यालयमा सम्पर्क गरे । तर, कहीँबाट सकारात्मक जवाफ पाएनन् ।

त्यही बेला एक साथीले आचार्यलाई विवेकशील नेपाली पार्टीमा सम्पर्क गर्न सुझाए । “म विवेकशीलका बारेमा पूर्ण अनभिज्ञ थिएँ । त्यसमाथि सरकारी तहबाटै सहकार्य नपाएका बेला एउटा राजनीतिक पार्टीले के नै गर्ला जस्तो लागेको थियो,” अंग्रेजी साहित्यमा विद्यावारिधि गरेका आचार्यले भने, “तर, विवेकशीलबाट नसोचेको सहकार्य पाएँ । सम्पर्क गरेको भोलिपल्ट मेडिकल टिमसहितको राहत टोली लहरेपौवा पुग्यौँ ।”

रसुवा भ्रमणका क्रममा विवेकशीलका सदस्यले भूकम्पपीडितलाई गरेको व्यवहार र राहत वितरण शैलीबाट कतिसम्म प्रभावित भए भने फर्कंदा उनी आफैँ विवेकशीलको राहत वितरण अभियानमा स्वयंसेवक बन्न राजी भए । गोल्डेनगेट कलेजका यी उपप्राध्यापक पछिल्लो तीन सातायता विवेकशीलको भूकम्पपीडित सहयोग अभियानमा दिल खोलेर लागेका छन् ।

हालसालै एमबीए सकेकी अनिता पौडेल, २४, भूकम्पपीडितको सहयोगार्थ विवेकशील पार्टीले स्थापना गरेको अर्थक्वेक रिलिफ टास्क फोर्सकी सूचना संयोजक हुन् । राहत सहयोग कति प्राप्त भयो, कति कुन ठाउँमा वितरण भयो भन्ने तथ्यांक संकलन गर्दै फेसबुक र ट्वीटरमार्फत सर्वसाधारणलाई जानकारी गराउनु उनको टिमको मुख्य जिम्मेवारी हो । फेसबुकमा आउने सन्देशको जवाफ दिने जिम्मा पनि उनकै टिमको हो तर अचम्म के भने यति ठूलो जिम्मेवारी पाएकी पौडेल विवेकशील पार्टीकी सदस्य होइनन्, स्वयंसेवक मात्र हुन्, जो विवेकशीलसँगै भूकम्पपीडितको सेवामा अहोरात्र खटिरहेकी छन् ।

आचार्य र पौडेल मात्र होइन, ५ जेठमा विवेकशीलको चक्रपथ, चप्पल कारखानास्थित केन्द्रीय कार्यालय पुग्दा उनीहरूजस्ता स्वयंसेवकको भीड थियो । कुनै पार्टी अफिसभन्दा शरणार्थी शिविरजस्तो देखिने कार्यालयमा स्वयंसेवकलाई चामल, चिउरा, त्रिपाल र औषधीजस्ता सामग्री मिलाउन र पीडित भएसम्म पुर्‍याउने बन्दोबस्त मिलाउन भ्याइनभ्याइ थियो । जसमध्ये अधिकांश विवेकशीलसँग कुनै सम्बन्ध नभएका युवा थिए ।

पार्टी अध्यक्ष उज्वल थापाका अनुसार राहत अभियानमा संलग्न करिब दुई हजार स्वयंसेवकमध्ये पाँच सय मात्र पार्टीका सदस्य हुन् । बाँकी आफैँ स्वत:स्फुर्त रूपमा स्वयंसेवक बनेका हुन् । उसो त स्वयंसेवक परिचालनमा मात्र होइन, भूकम्प आएकै दिनबाट विवेकशील पार्टीले उद्धार, राहत र पुन:स्थापनामा निर्वाह गरेको भूमिकाले सर्वत्र चर्चा पाइरहेको छ । प्रमुख दलका सभासद्ले संविधानसभा सचिवालयबाट पाल लगेपछि आलोचना खेपिरहेका बेला विवेकशीलको अभियानले प्रशंसा बटुल्नु स्वाभाविक छ । तर, उद्धार र राहतका क्रममा पार्टीले देखाएको सक्रियता, उदारता र पारदर्शिताका अगाडि भने यो प्रशंसा फिका लाग्छ ।

भूकम्पका दौरान आफू बच्न, सहयोग संकलन गर्न र पीडितलाई सहयोग गर्न पार्टीलाई त्यति धेरै असहज भएन । किनभने, ६ महिनाअगाडि विवेकशीलले विपत् व्यवस्थापन विषयमा विज्ञहरूको सहभागितामा बृहत् अन्तरक्रिया गरेको थियो । अन्तरक्रियापश्चात् पार्टीभित्र सर्कुलर नै जारी भएको थियो, पहिले आफू बाँच्ने, परिवारको ख्याल गर्ने र त्यसपछि नजिकैको अस्पताल पुगेर डाक्टर र नर्सलाई सहयोग गर्ने । किनभने, यस्तो बेला बिरामीको चापले अस्पताल अस्तव्यस्त हुने भएकाले सेवा प्रभावकारी र चुस्त बनाउन स्वयंसेवक चाहिन्छ । अन्तरक्रियाको यही निष्कर्षलाई पछ्याउँदै भूकम्प आएको आधा घन्टाभित्र अध्यक्ष थापा केही साथीका साथ शिक्षण अस्पताल, महाराजगन्ज पुगिसकेका थिए । अस्पतालको चौरमा यत्रतत्र बिरामी छरिएका थिए । निकै भयावह अवस्था थियो ।

थापाका अनुसार डाक्टर र नर्स सम्हालिएर उपचार गर्ने प्रयास त गर्दै थिए तर बिरामीको संख्या अत्यधिक भएकाले उपचार प्रभावकारी हुन सकेको थिएन । त्यसैले बिरामीलाई मिलाएर राख्न र सकेसम्म छिटो उपचार गर्न डाक्टरहरूलाई सहयोग गर्न थालियो । कतिसम्म भने अर्को एक घन्टाभित्र विवेकशीलले अस्पताल परिसरमा हेल्प डेक्स स्थापना गरिसकेको थियो, जसले बिरामीको उपचारदेखि मृतकको पहिचानसम्ममा सघाउ पुर्‍याउँथ्यो ।

केही बेरमै अस्पतालको स्टक औषधी सकियो । औषधी अभाव भएपछि विवेकशीलका स्वयंसेवकले आफैँ पैसा उठाए, डाक्टर, नर्स र बिरामीका आफन्तले पनि सहयोग गरे । केही मिनेटमै औषधी खरिदका लागि करिब एक लाख रुपियाँ जम्मा भयो । “टिचिङको यो अनुभवबाट हामीले सहयोग चाहिने र दिन खोज्नेबीचको पुल हुनु आवश्यक रहेको पाठ सिक्यौँ,” थापा भन्छन्, “अहिलेसम्म हामीले गरेको पनि त्यत्ति हो । विपत्मा कुशल व्यवस्थापन चुनौतीपूर्ण हुँदो रहेछ ।”

यसरी शिक्षण अस्पतालबाट सुरु भएको विवेकशीलको भूकम्पपीडित सहयोग अभियान ७ जेठसम्म १७ जिल्लाका २ सय २३ गाविस पुगिसकेको छ । अझ २ सय २० गाविसमा त मेडिकल टिमसहित । यति धेरै स्थानमा राहत पुर्‍याउनु आफैँमा सराहनीय काम हो । तर, यसभन्दा सराहनीयचाहिँ विवेकशीलले अपनाएको राहत संकलन शैली हो । यसका लागि विवेकशीलले फेसबुक, ट्वीटर र आफ्नै वेबसाइटबाट सहयोगको अपिल गर्‍यो । स्वयंसेवक बटुल्ने माध्यम पनि यही बन्यो । यो माध्यम कम खर्चिलो मात्र होइन, औधी प्रभावकारी पनि साबित भयो । कहाँ राहत तथा उद्धार आवश्यक छ भन्ने जानकारी लिन पनि फेसबुक निकै उपयोगी ठहरियो ।

भूकम्प आएको दुई सातासम्म फेसबुकमा देशविदेशबाट मिनेट–मिनेटमा सन्देश आएका थिए, यो क्रम अझ रोकिएको छैन । अधिकांश सन्देश भूकम्पपीडितलाई सहयोग गर्न चाहने र मेसो नपाएका शुभेच्छुकको हुन्छ । टास्क फोर्सका संयोजक सिमोन ढुंगाना भन्छन्, “हामीले तिनै सहयोगी मनहरूलाई एकतित्र पारेर पीडितहरूको घाउमा मलम लगाउने प्रयास गर्‍यौँ ।”

विवेकशीलको अभियानमा सहयोग रकम वा सामग्री ओइरिनुको मुख्य कारण हो, पारदर्शिता । भूकम्पपीडितको सहयोगका लागि धेरै संघसंस्था जुर्मुराएका छन् तर कमैले मात्र कति आयो र गयो भन्ने हिसाबकिताब सार्वजनिक गरेका छन् । जसका कारण दातामा आफूले दिएको पैसा वास्तविक पीडितसम्म नपुगी बीचमै हिनामिना हुन्छ कि भन्ने चिन्ता छ । “हामीले यही मनोविज्ञान दूर गर्न र दिल खोलेर सहयोग गर्ने वातावरण बनाउन उच्च पारदर्शिताको बाटो रोज्यौँ,” अध्यक्ष थापाको भनाइ छ, “त्यसैले हामीप्रति धेरैको विश्वास बढेको हुन सक्छ । दाताहरूले कुनै पार्टीभन्दा उद्देश्य र कर्मका खातिर हामीलाई सहयोग गरेका हुन् ।”

पारदर्शी र स्वार्थरहित ढंगबाट काम गर्ने हो भने स्रोतको कमी नहुने उनको दाबी छ । हुन पनि विवेकशीलको फेसबुक र वेबसाइटमा कति रकम वा सामग्री कसले सहयोग गर्‍यो मात्र होइन, कहाँ, कति र कहिले वितरण भयो भन्नेसम्मका सूक्ष्म तथ्यांक राखिएको छ । यसका साथै फेसबुक र ट्वीटरमा ‘आई एम विथ नेपाल’ भन्ने अभियान पनि चलाएका छन् । यस्तो अभियानले विश्वसामु नेपालको ‘गुडविल’ बढ्ने ढुंगानाको विश्वास छ ।

नेपालमा विपत्का बेला राजनीतिक दलहरू प्रत्यक्ष सक्रिय भएर पीडितलाई सहयोग गरेका घटना विरलै देख्न पाइन्छ । दलका नेता तथा कार्यकर्ता आफैँ जनतासामु पुगेर सहयोग गर्ने संस्कारको पनि विकास भइसकेको छैन । अनि, राम्रो कार्यलाई पनि राजनीतिक गन्ध दिएर धमिल्याउने समस्या नेपाली समाजमा विद्यमान नै छ । तर, विवेकशीलको भूकम्पपीडित सहयोग अभियानले यी सबै मान्यतालाई चिरेको छ । राहत वितरणका क्रममा स्थानीय जनताबाट माथि भनिएजस्ता कुनै समस्या खेप्नु परेन ।

दाता, जनताबाट मात्र होइन, अन्य राजनीतिक दलका कार्यकर्ताबाट पनि अनपेक्षित सहयोग पाएको अध्यक्ष थापा बताउँछन् । “स्वार्थरहित र पारदर्शी भएर काम गर्ने हो भने राजनीतिक दलको अभियानले पनि चौतर्फी साथ र सहयोग पाउँदो रहेछ,” थापाको बुझाइ छ, “२१औँ शताब्दीको राजनीतिक नेतृत्वमा हुनुपर्ने मुख्य गुण नै जनताको प्रत्यक्ष सेवा हो

 

Kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्