“पठनपाठन ठप्प भए पनि विद्यालय बन्द भएको बेलाको शुल्क लिने” : प्याब्सन

“पठनपाठन ठप्प भए पनि विद्यालय बन्द भएको बेलाको शुल्क लिने” : प्याब्सन

काठमाडौं, १३ जेठ : निजी तथा आवासीय विद्यालयहरुले भूकम्पका कारण पठनपाठन ठप्प भए पनि विद्यालय बन्द भएको बेलाको शुल्क लिने भएका छन् । निजी तथा आवासीय विद्यालयहरुले भूकम्पका कारण पठनपाठन ठप्प भए पनि आफूहरुले घरभाडा र शिक्षकहरुको तलब दिनुपर्ने भन्दै अभिभावकसँग बन्द भएको बेलाको शुल्क लिने भएका हुन् । प्याब्सनले काठमाडौंमा पत्रकार सम्मेलन गरी शुल्क मिनाहा नगर्ने बताएको छ । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भूकम्पका कारण विद्यालयहरु पनि क्षतिग्रस्त भएको र विद्यालयहरुको सबै खर्चको स्रोत शुल्क भएकाले शुल्क मिनाहा गर्न नसकिने बताउनुभयो । वैशाख २ गते नयाँ शैक्षिक सत्र सुरु भएपछि अधिकांश निजी विद्यालयमा हालसम्म पठनपाठन भएको छैन भने पठनपाठन सुरु गरेका विद्यालय पनि वैशाख १२ गतेको भूकम्पपछि बन्द छन् । प्याब्सन आफैंले १२ गतेको भूकम्पपछि विद्यार्थीहरुको २६ दिनको पठनपाठन रोकिएको बताएको छ ।

 

भूकम्पका कारण रोकिएको पठनपाठन गर्मी र जाडो तथा चाडपर्व र परीक्षा विदा कटौती गरेर सञ्चालन गरिने प्याब्सन अध्यक्ष केसीले बताउनुभयो ।  भूकम्पका कारण बन्द भएका विद्यालय यही जेठ १७ गतेदेखि सञ्चालन हुँदैछन् । विद्यालय खुलेपनि एक सातासम्म पठनपाठनको सट्टा परामर्श र मनोरञ्जनका कक्षा सञ्चालन गरिने प्याब्सनले बताएको छ ।  भूकम्पका कारण देशभरका करिब ५ सय वटा निजी विद्यालयका करिब ५ हजार वटा कक्षा कोठामा क्षति पुगेको छ । तर सरकारले क्षति पुगेका सबै विद्यालयको अवलोकन गरिसकेको छैन् । सरकारले अवलोकन नगरेका कारण कतिपय निजी विद्यालयहरुले चर्किएका ठाउँ टालेर पठनपाठनको तयारी गरेका छन् । काठमाडांैका जिल्ला शिक्षा अधिकारी दिनेश श्रेष्ठले इन्जिनियरको अभावका कारण निजी विद्यालयको अवलोकन गर्न समय लागेको भन्दै शुक्रबारसम्म सबै विद्यालयको अवस्था अवलोकन गरिसक्ने र अवलोकनका क्रममा चर्किएका ठाउँ टालिएको पाइए त्यस्ता निजी विद्यालयमा रातो स्टिकर टाँसेर पठनपाठनमा रोक लगाइने बताउनुभयो । काठमाडौमा १ हजार ५४ वटा निजी विद्यालय रहेकामा जिल्ला शिक्षा कार्यालयले अहिले १२ वटा प्राविधिक टोली खटाएर विद्यालयहरुको भवन पठनपाठन सञ्चालनका लागि योग्य भए÷नभएको बारेमा जाँच गरिरहेको छ । यता विराटनगर लगायत मोरङ जिल्लामा भने अहिलेसम्म प्राविधिक टोली खटाएर भूकम्पले क्षतिग्रस्त विद्यालय भवनहरुको अवलोकन गरिएको छैन । अधिकांश विद्यालयले चर्किएका भवन टालटुल गरेर कक्षा सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्