मलाई तिमी नहुनुभन्दा हुनु ठिक रहेछ (कविता) -सुरज सुवेदी

मलाई तिमी नहुनुभन्दा हुनु ठिक रहेछ (कविता) -सुरज सुवेदी

महशुस गर्दैछु
नहुनुभन्दा हुनु ठिक रहेछ
अझै थपुँ?
मलाई तिमि नहुनुभन्दा हुनु ठिक रहेछ ।

म खुशी हुँदोरहेछु,
रमाउदो रहेछु
हरेक गानाले कुत्कुति लगाएझै लागेर
नाच्दो पनि रहेछु
हावा चलेपछि जसरि हल्लिन्छ रूख त्यसरिनै ।
तिमि त हावा पो रहेछौ ।

म थाहा पाउदो रहेछु
छातीभित्र सानोसानो भुकम्प गएको , वाढि आएको, र आफैलाई वगाएको ।
र यो पनि थाहापाउदो रहेछु कि भुकम्पले भत्काउनु र वाढिले वगाउनुमा पनि मिठास रहेछ ।

सामिप्यता कारण हो रे
त्यसैले
गर्मीमापनि लुगलुग कामेको रे म
जाडोमा पनि पसिना आएको रे मलाई ।

तिम्रो क्षितिज हेरून्जेल
मेरा आखा नझिम्किनु भन्छन्
मन स्थिर नहुनु भन्छ ।
तर यो विल्कुल समुन्द्रले छाल नआओस भनेझै हो ।
तिम्रो वारेमा मेरा दुई मष्तिष्कहरू त झन् यस्तरि गफ गर्छन् आपसमा कि
कहिलेकाँई पत्तै पाउदैनन्
उनिहरू मलाई सोच्छन् कि तिमिलाई?

म चेतनामा हुँदा
तिम्रो सुन्दरताको "नाभी वास्ना " खोज्दै थाक्दैनन् मेरा " कस्तुरी खोजहरू। "

आजकाल,
सवै मै सँग भैरहेछन्
पहिले नहुने गरेका कुराहरू
मै देखिरहेछु कहिल्यै नदेख्ने गरेका सपना
मै छामिरहेछु कहिल्यै नछामिएका महशुसहरू ।

भएर रहेछ तिमि नजिक
लागेर रहेछ तिमि आफ्नो

त्यसैले थाहा पाउदैछु
नहुनुभन्दा हुनु ठिक रहेछ ।
अझै थपुँ?
मलाई तिमी नहुनुभन्दा हुनु ठिक रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्