बसन्त पञ्चमी भन्छन्
तिम्रै पुजा गर्छन्
फूल नैवेद् चढाउँछन्
पैसा राख्छन्
आधा शीर झुकाएर
ढोगेझैं गर्छन्
हेर्छु सबै बनावटी लाग्छ
यो समाज कता जाँदैछ
त्यसको चिन्ता लाग्छ
भक्ति र आरधनालाई परिमार्जित गर्छन्
प्रार्थना त्यागेर मनोरञ्जनमा भुल्छन्
प्रतिस्पर्धात्मक बनाउँदैछन् तिम्रो सुन्दरतालाई
चुनौति दिन खोज्छन्
सुन्दरी बनेर
भुल्दैछन् तिम्रो क्षमता
अवमूल्यन गर्दैछन्
लाग्छ तिमीले पास गराइदिन्छौ सबैलाई
मेहनत नै नगरी
वा भनौं
ठूलै बुद्वि दिन्छौ
मूर्खहरु आफैं भ्रममा छन्
या तिमीले भ्रमित पार्दैछौ
चिन्ता बढ्छ
कता जाँदैछ यो समाज
नकरात्मक प्रतिस्पर्धा किन हुँदैछ रु
किन बदलिदैछ यहाँ–
यो विशेष दिवसको परिभाषा रु
किन सेवकहरु भ्रष्ट हुँदैछन् रु
अनि भ्रष्टहरु सेवक
गुरु’माले भन्नुहुन्थ्यो
तिमीमा शक्ति छ
क्षमता छ
विद्वता छ
तिम्रै हातमा छ ज्ञानको भण्डार
त्यसकै पछि लाग्या थें
आज म भ्रमित हुँ
वा हिजो गुरु’मा गलत
जवाफ तिमीसँगै छ
तिमीले बताउनुपर्छ सत्य
हटाउनुपर्छ यो अन्धकार
परिवर्तन ल्याउनपर्छ समाजमा
नास गर्नुपर्छ तिमीले
शिक्षित रुपी अशिक्षितहरुको
विद्वताको खोल ओढेर
स्वार्थको राजनीति गर्नेहरुको
मानव स्वरुपमा आएर
पशुझैं व्यवहार गर्नेहरुको
अनि मनाउँछु सरस्वती पुजा
गर्छु तिम्रो आरधना
ढोंगी स्वरुपमा होइन
भित्री हृदयदेखि
प्रेम गर्छु तिमीलाई
सम्मान गर्छु
तिम्रो रुप र क्षमताको
जयजयकार गाउँछु
हृदय पवित्र बनाएर
तिमी सरस्वती माताको
– श्रीमन्त