कक्षा ११ र १२ मा पनि ‘लेटर ग्रेडिङ’

कक्षा ११ र १२ मा पनि ‘लेटर ग्रेडिङ’

काठमाडौँ फाल्गुन १२

कक्षा ११ र १२ तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अर्न्तगतका शैक्षिक कार्यक्रमको  नतिजा पनि लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिने भएको छ।

उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले ११ कक्षामा अब भर्ना हुने विद्यार्थीको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको हो। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी विद्यालय तहकै संरचना भएकाले ११ र १२ दुवै कक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए।

एसएलसीमा ९ वटा ग्रेडको व्यवस्था गरिएको भएपनि ११ र १२ कक्षामा कतिवटा ग्रेड कायम गर्ने भन्ने निर्णय भने भएको छैन। परिषद्को बोर्ड बैठकले ग्रेडका विषयमा सुझाव दिन परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा समिति गठन गरेको छ।

मन्त्री पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा मूल्यांकन परिषद्ले गत मंसिर २३ गते एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको थियो। परिषद्को निर्णय अनुसार प्राविधिक एसएलसीमा गत असारबाट नै लेटर ग्रेडिङ प्रणाली लागू भइसकेको छ। शिक्षामन्त्री पोखरेलकै अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को बोर्ड बैठकले समेत परिषद् मातहतका शैक्षिक कार्यक्रमको नतिजा लेटर ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ। लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दा त्यसको असर रोजगारीका अवसरहरुमा पर्ने भएकाले शिक्षा मन्त्रालयले यस विषयमा लोकसेवा आयोगसँग प्रारम्भिक रुपमा छलफल समेत गरिसकेको छ।

शिक्षामन्त्री पोखरेलले विश्वविद्यालय र लोकसेवा आयोग दुवैले लेटर ग्रेडिङ प्रणालीलाई सकारात्मक रुपमा लिएको भन्दै व्यवहारिक कठिनाइ समाधानका लागि मन्त्रालय मातहतका निकायले प्राविधिक अध्ययन गरिरहेको बताए।

शिक्षा मन्त्रालयले ११ र १२ कक्षामा आगामी शैक्षिक सत्रबाट दुर/खुल्ला शिक्षा पद्धति अपनाउने निर्णय पनि गरेको छ। हाल विद्यालय र विश्वविद्यालय तहमा मात्र दुर/खुल्ला शिक्षा पद्धतिबाट पठनपाठन हुने गरेको छ। मन्त्रालयले ११ र १२ कक्षामा दुर/खुल्ला शिक्षा पद्धतिबाट पठन पाठन संचालन गर्ने विषयमा कार्यविधि बनाउन शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ। मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठनका सम्बन्धमा सुझाव लिन यहि फागुन १६ गते प्रधानमन्त्री केपी शर्माको उपस्थितिमा वृहद् कार्यशाला गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्