२०४५ को भूकम्पको पिडा अहिले सम्म

<span class='c1'>२०४५ को भूकम्पको</span> <span class='c2'>पिडा अहिले सम्म</span>

इटहरी, १५ भदौ । अठ्ठाइस वर्षअघि आएको भूकम्पले सुनसरी र उदयपुरको तपेश्वरी गाविसका मध्यवर्ती क्षेत्रमा मानवीय सङ्कट ल्याएको तथ्य फेला परेको छ ।

उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर २०४५ भदौ ५ गते बिहान ५ बजेतिर आएको ७.५ रेक्टर स्केलको भूकम्पले धेरै जनधनको नोक्सानीसँगै तत्कालीन गरैया टप्पु अर्थात श्रीलङ्का टप्पुका एक हजार ५०० घर परिवारले कोसीको भङ्गालोको बीचमा परेको तथ्य फेला परेको हो ।

सुनसरीको बराहक्षेत्र गाविस र उदयपुर जिल्लाको मैनामैनी गाविसको बीचबाट दक्षिण हुँदै सप्तकोसी नदी पश्चिमी किनारतिरबाट दक्षिण बगेको थियो । हालको श्रीलङ्का टप्पु थिएन । त्यसैले त्यतिखेरको कोसीको बीचमा रहेको सानो भू–भागलाई स्थानीयवासीले गरैया भन्दै आएका थिए । तर २०४५ सालको बिनाशकारी भूकम्पले सुनसरी र उदयपुर जिल्लाको भू–भाग धेरै हल्यायो ।

सो भूकम्पले धेरैको ज्यान लियो भोलिपल्ट अर्थात भदौ ६ गते सप्तकोसी नदीले पश्चिमतिरको आफ्नो बहावको धार परिवर्तन गर्दै सप्तकोसी नदी एक्कासि पूर्वतिर हानियो ।

सुनसरी प्रकाशपुर ४ र ५ का ८०० घरपरिवार र महेन्द्रनगर गाविस–५ का ४०० घरपरिवार सुनसरीतिरबाट सप्तकोसी नदीको त्यो धार परिवर्तनले विस्तारै पश्चिमपट्टी विभाजित हुनपुग्यो । त्यस्तै उदयपुर जिल्लाका तपेश्वरी– १ भागलपुरको पनि ३०० घरपरिवारको बसोवास क्षेत्र पनि पश्चिमी भङ्गालोबाट छुट्टिएर श्रीलङ्का टप्पुभित्र पर्न गयो ।

भूकम्पका कारण सप्तकोसी नदीले धार परिवर्तन गरेपछि हाल प्रकाशपुर–४ बाट विभाजित भई श्रीलङ्का टप्पुमा परेको अर्जुन चन्द्रवंशीले भन्नुभयो– ‘हामीले हेर्दाहेर्दै कोसी नदी पश्चिमतिर स¥यो र हाम्रो दुःखका दिन त्यहीँबाट सुरु भयो ।’

“श्रीलङ्का टप्पुको एकहजार ५०० परिवार बर्खाका बेला न पश्चिम उदयपुरको तपेश्वरीतिर जान सक्छन् न त पूर्वतिरको प्रकाशपुर र महेन्द्रनगरतिर नै आउन सक्छन् ।” उहाँले भन्नुभयो– “सुनसरी सदरमुकाम पुग्न दुई दिन लाग्छ ।”

दुई जिल्लाको तीन गाविसका एकहजार ५०० घरपरिवार रहेको श्रीलङ्का टप्पुको चौडाई पूर्व–पश्चिम पाँच किलोमिटर र उत्तर दक्षिण लम्बाइ १४ किलोमिटर छ । यहाँ केही तरकारी धानखेती मकैखेती बाहेक अरु कृषिजन्य उत्पादन हात नलाग्ने स्थानीयबासी सुरेन चन्द्रवंशी बताउनुहुन्छ ।

जङ्गली हात्ती, बँदेल, दुर्लभ अर्नाबाट दैनिकजसो बालीनालीको नोक्सानी गरेपछि स्थानीयवासीको कृषि पेशाको आकर्षण घटेको छ ।

सुनसरी प्रकाशपुरको कोसी बारिपट्टीको राजावास क्षेत्रमा रहेर कोसी नदीको विषयमा लामो समयदेखि अध्ययन र विश्लेषणमा संलग्न रहँदै आउनुभएका रवीन घिमिरेले पनि २०४५ सालको भूकम्पले एउटै वडाका मानिस कोसी वारिपारि गरी दुईतिर विभाजित भएको बताउनुभयो ।

कोसी नदीको बीचमा रहेको प्रकाशपुर–४ को कौशिका प्राथमिक विद्यालयका प्रधानाध्यापक सन्तोष कर्मकारले भन्नुभयो– ‘यहाँ निम्नमाध्यमिक तहसम्मको शिक्षा लिन सकिन्छ तर माध्यामिकदेखि उच्च शिक्षा पढ्न तपेश्वरीको भागलपुर वा सुनसरी नदी पूर्वपट्टी प्रकाशपुर र महेन्द्रनगर जानुपर्छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्