नेपालको छोरो !!! – पुरुषोत्तम भण्डारी

नेपालको छोरो !!! – पुरुषोत्तम भण्डारी

बिहान बिहान मेरो रेडियोमा एउटा गीत बज्छ ," म झुक्दै नझुक्ने यो नेपालको छोरो ......." यो गीत गाउने को होला ??? बिहान बिहान सधै जसो रुदै गीत गाउदै गर्छ ! केही भोजपुरे सिग्देल तिरका नेपालका छोरा छोरी लाई त मैले पनि पढाएको थिए तर चिन्न सकिन यो कुन नेपालको छोरो हो ???

 

बाहिर फेर हेर्छु सबै झुकेरै हिड्ने मात्रै देख्छु , कत्तिले त आफुलाई नै बेचिसके अरे भन्ने सुन्छु !रेडियोमा मात्रै नझुक्ने को रहेछ यो , नेपालको छोरो ???लौन ,साथी हो भनिदिनुपर्यो ......अरु पनि छन कि नेपालका छोरा ???अरु पनि रुन्छन कि यहि रेडियोमा मात्रै रोएको हो ???कि मेरो रेडियो पो बिग्रेको हो ????

 

तपाईंहरुले सोच्नु होला , यो के ठट्टा गरेको ? तर म सांच्चिक्कै गम्भीर भएर यो प्रश्न गर्दैछु कि आखिर को हो त्यो नेपालको छोरो ! तपाईं हरु चिन्नुहुन्छ भने बेग्लै कुरो हो तर मैले चाहिं न त चिन्न नै सकेँ न त खुट्याउन नै सकेँ ! चाहे त्यो माथिको राजधानीमा बनेको सरकार भित्रको कुरो गर्नुस चाहे ति तथाकथित ठुला ठुला राजनीतिक पार्टी भनाउँदा भेडा-पालन केन्द्रमा हेर्नुस , मैले त कहीं कतै त्यो नेपालको छोरो भेटिन , देखिन ! कि तपाईंहरुले देख्नु भएको छ ?

 

त्याहाँ त कोहि अमेरिकाले पालेको पोश्य पुत्र छ अरे , कोहि चाहिं युरोपियनहरुले युरोको माड खुवाएर हुर्काईएका युरोपियन पोश्य पुत्र छन् अरे ! अनि कोहि चाहिं छिमेकी धाई-आमाले लाम्टो चुसाएर हुर्काएका बलिया बलिया भुसतिघ्रे छोरा हरु छन् अरे ! के यो कुरो साँचो हो त ? यदि साँचो हो भने त भन्नुनै पर्छ कि सरकारमा र पार्टीमा त नेपालका छोरा रहेनछन ! एउटा खै कुन पार्टीमा हो , दुइ ओटा नेपालका छोरा थिए अरे, ति मध्य पनि एउटा चाहिंको टाउको को अपरेसन गरेर , बिरामी भएर घरमैं आराम गरेर बसिरहेका छन् अरे र अर्को चाहिं नेपालको छोरो लाई अचेल भरि खै के -------भारत पो भनेर बोलाउछन अरे, उसको त थर नै परिवर्तन गरेर खै के ---------भारत भन्छन अरे !

 

अनि भन्नुस त , तपाईं नै ! त्यो माथिल्लो तहमा त कोहि पनि रहेनछन नेपालका छोरा ! अब भन्नुहोला , माथि नभएर के भो त , तल जनताका माझमा त छन् नि नेपालका छोरा ! तर म त भन्छु ," अंह ! तल पनि छैनन् नेपालका छोरा !" नपत्याए सोध्नुहोस त उपेन्द्र यादव लाई , उनि के भन्छन ? उनि सिधै हाक्का-हाक्की भन्छन ," म त मधेसको छोरो , मधिसे !" किशोर यादव , सुरेन्द्र चौधरी, अशोक राई , तिलक रावल , शरद सिंह भण्डारी ---------यस्तै यस्तै धेरै लाई पुर्व मेची देखि माहाकाली सम्मका प्रायजसो सबैलाई सोध्नुहोस त , तिमि को हौ भनेर , के जवाफ दिंदारहेछन ?

 

कोहि भन्छन लिम्बुको छोरो , कोहि भन्छन राईको छोरो, कोहि भन्छन बाहुनको छोरो, कोहि भन्छन क्षेत्रीको छोरो त कोहि कसको त कोहि कसको तर कोहि भन्दैनन ," म हुँ नेपालको छोरो ", किन ? आखिर किन ??? सानो बच्चा देखि बुढो मर्न लागेको व्यक्तिलाई सोध्नुहोस त , तिनीहरुले के भन्छन ? सबैले आ-आफ्नो जात-थर बताएर भन्छन , म फलानाको छोरो, म ढिस्काना को छोरो ! कसैले भन्दैनन ," म नेपालको छोरो !" यदि कसैले भन्छ भने त्यो एउतै छ, मेरो रेडियो भित्र छ ! दिनमा धेरै पटक पनि भन्दैन ! बिहान उठिसके पछि र बेलुकी सुत्ने बेलामा दिनको दुइ पटक रुँदै -कराउंदै भन्छ ," म झुक्दै नझुक्ने यो नेपालको छोरो !"

 

अनि कसरि नभन्नु मैले ," लौ ! मेरो रेडियो त बिग्रिएछ !" अन्त कहीं कतै भित्र-बाहिर , तल-माथि , यता-उति कहीं पनि कोहि पनि नभएको यो को रहेछ , झुक्दै नझुक्ने नेपालको छोरो ? लौन ! पत्तो लाउनुपर्यो र चिन्नु पर्यो को रहेछ यो झुक्दै नझुक्ने नेपालको छोरो ?

पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्