आजभोली मलाई
तिम्रो भन्दा
तिम्रा लागि लेखेको
प्रेमपत्र याद आउँछ ।
ती प्रेमपत्र मात्र थिएनन् प्रिये,
एउटा कविको कोमल भावना थिए
हजार सपनाका खण्ड–खण्ड थिए,
प्रिये,
ती अक्षर मात्र थिएनन्
साहित्यका अमूल्य नीधि थिए ।
मेरा अनगिन्ती पाठक
मसँग ती अमूल्य शब्दको माग गर्दैछन्
म देखाउन सक्तिन तिम्रो द्वार
कसरी भनौं
ती अक्षर निर्ममतापूवर्क
च्यातिए, जलाइए र तिनको दोहन गरिए ?
भन कसरी बताउँ ??
म सक्तिन आजभोली लेख्न
ती मनमोहक शब्द,
जादूगरी भाषा र आशँुका कथा
कसरी सम्झाउँ उनीहरुलाई
तिमीसँगै टाढा भए
मेरा सप्तरंगी सपना पनि...लेखनी पनि ।
प्रिये, आजभोली
डरलाग्दो सपना देख्न थालेको छु
मेरा अनगिन्ती पाठक
तिम्रो द्वार ढक्ढक् पार्दैछन्,
आफ्नो प्रिय लेखकका
प्रेमपत्रको माग गर्दैछन्
आजभोली मलाई
तिम्रो भन्दा
तिम्रा लागि लेखेको
प्रेमपत्र याद आउँछ ।