देब्रे छाती छाम्दा मात्रै पनि थाह लाग्नेरहेछ
जिन्दगीको मिठो धून,
प्रेममा परेपछि।
आफूभित्रैको दृष्यमा अल्झिरहेर
बाहिर टोलाइबस्नेरहेछन् आँखा।
नरम र सुरिलो भएर मात्रै
गुञ्जन खोज्नेरहेछन् आवाज।
ऐनाले तानिल्याइरहँदोरहेछ
आफूतिरै।
लुगाहरू तछाँडमछाँड गर्दारहेछन्
ज्यादा सुहाउँदिलो देखिनका लागि।
कथाका अक्षरहरूमा आफ्नै मुहार भेटिँइदोरहेछ।
गीतका शब्दहरुमा आफ्नै भावनाको लय बज्दोरहेछ।
सिरानी भएर आइदिनेरहेछ रात
र जागै बस्दोरहेछ अङ्गालोमा च्यापिएर।
सम्झनाका किरणले उजिल्याउनेरहेछ दिन
र पुऱ्याइदिँदोरहेछ ताराहरूसम्म।
चिसो सिरेटो पनि कसैको न्यानो बोकेर आइदिनेरहेछ।
वर्षातको थोपा-थोपा कसैको ओठ बनेर खसिदिनेरहेछ।
औडाहा भएर नाच्दोरहेछ छट्पटीको पागलपन।
बौरिएर आइदिनेरहेछ फेरि बाल्यकालको चन्चलता।
लाजका बादल खसिजाने रहेछन्
प्रेमको झरीसँगै।
डरका जङ्गल जलिजाने रहेछन्
प्रेमकै आगोमा।
प्रेममा परेपछि थाह हुनेरहेछ
आँशु खस्दाको मज्जा।
आफू जिउँदैछु भन्ने जान्नलाई प्रेममा पर्नुपर्ने रहेछ,
बाँचीबाँची कसरी मरिँदोरहेछ भन्ने जान्नलाई पनि
प्रेममा पर्नुपर्ने रहेछ।
प्रेममा परेपछि
मान्छे, मान्छेजस्तो नरहनेरहेछ।
र
प्रेममा परेपछि मात्रै
मान्छे, मान्छेजस्तो हुनेरहेछ।।