सेतो सिलिंग,
घुमिरहेको सेतै पङ्खा र
मेरा यी नयन
नङ मासुकै सम्बन्ध भए झैँ
मान्दैनन कतै मोडिन
र म उसैलाई टुलुटुलु हेरिरहे.. हेरिरहे
नयनमै लगाम लगाए झैँ
ऊ खुसी छ, नाच्दै छ र मलाई भन्दैछ
सकिए तेरा सबै दुखाइहरू
ती पीडादाई भोगाइहरू
यी तेरा सुकुनका सास र तेरो भविष्यको आस सगैं
ती सेता तन्नामा रगतका रङ भरेकी छस्
सहनशक्तिको परीक्षा उतिर्ण गरेकी छस्
म अडिग भइरहेँ
उसैलाई सुनिरहे... सुनिरहे
उ अझै यस्तै यस्तै अनेकौँ कविताहरू गास्दै छ
मेरी छोरीको तिखो रुवाइमा खुसीले हाँस्दै छ
एक छिन सोचे, नयन अन्तै मोड्न खोजे
तर अहँ पटक्कै मानेनन्, यिनले अन्त कतै हेर्नै जानेनन्
र म उसैलाई नै हेरिरहे.. हेरिरहे
उ रमाउँदै छ मेरो खुसीमा
म पनि ऊसँगै रमाउन चाहन्छु
कलिली छोरीलाई राखी काखमा
उसका हात समाउन चाहन्छु
तर खै किन मेरो शरीर स्थिर छ
मानौँ म माथि गर्हुंगो पत्थर थमाए झैँ
म हाँस्न चाहन्छु, मुस्कुराउन चाहन्छु
तर मेरा ओठ पनि स्तब्ध छन्
मानौँ यिनमा ताल्चा लगाइ चावी अन्तै हराए झैँ
एकाएक आँखामा बादल भारी हुदैछन्
लौ बर्सिन पो थाले, बर्खायामको झरी झैँ
नाइँ! म यिनलाई लुकाउन चाहन्छु
सुकाउन चाहन्छु चैतमासको खडेरी झैँ
कताकता गुनगुन गुनगुन आवाज छ
“लामोलामो सास फेर्नुस् त
तपाइकी छोरी भएकी छ, यता हेर्नुस् त”
म त त्यै पङ्खालाई नै हेरिरहे... हेरिरहे
पुराना ती दिन सम्झन्छु
सम्झन्छु ती समाजका प्रभाव
बाबु बिनाको बच्चा भन्दै
भु्र्ण हत्याका लागी दिएका दबाब
घरपरिवारको नजरमा झरेकी थिए
उसलाई संसार देखाउने एक्लो आँट गरेकी थिए
म रमाउन सक्दिन
किनकि छोरी जन्मिएकी छे
मैले झैँ यसले पनि दुख सहली
आजको म जस्तै उ भोलि रहली
पाइलै पिछे सिस्नुको काँडा सहनुपर्ला
तर समाजकै डरले चुपचाप रहनुपर्ला
छोरी भएकैले बाँच्न सङ्घर्ष गर्नुपर्ला
आफ्नै पर्ने सिकारीको हात पर्नुपर्ला
म एक्लै एक्लै बोलिरहे.. बोलिरहे
लौन मेरो हात खुट्टा बाँध्दै छन्
प्लिज कसैले त खोलिदेऊ
मेरी छोरीपनि अब टाढा लग्दै छन्
गुनगुन आवाज सुन्दै छु
पोस्टपार्टम साइकोसिस हो भन्दै छन्।
-मधु खतिवडा