कृष्ण अधिकारी ।
३१ सालकै कुरा हो, सोलुको सल्लेरीबाट खुम्बू क्षेत्रको भ्रमणमा जानुपर्ने भयो । सोलु भनेको सदरमुकाम सल्लेरीभन्दा तलको भाग र खुम्बू भनेको त्यहाँभन्दा माथिको क्षेत्र । जेठ असारको महिना निरन्तर पानी बर्षिइरहने । रुखका पातबाट खरिजूका टाउकामा फ्यात्त फ्यात्त खस्ने । जमिनमा त्यति नै, जुत्ता मोजाभित्र, औँलाको कापमा जूकै जूका, सबैतिर रगतपच्छे । सपनमा पनि नदेखेको बाटोको यात्रा । त्यो यात्रामा मनपरेको भूमि–जुनवेशी । मिलेका दन्तलहर जस्ता पङ्तिवद्ध गह«ा, तल सङ्लो पानी बगेको सानो खोला र पारीपट्टि पनि त्यस्तै पङ्क्ति मिलेका गह«ा । सानो सानो उपत्यका जस्तो लाग्ने भूमि, तर अत्यन्तै जाडो ठाउँ ।
त्यहाँबाट अगाडि बढेपछि लुक्ला । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको जन्मभूमि चौँरीखर्क । लुक्ला विमानस्थल पनि त्यहीँ छ । त्यसबेला हामी त्यहाँ पुग्दा स्थानीय मान्छे भन्दा गोरो अनुहार भएका विदेशी बढी देखिन्थे । कोही सगरमाथा चढ्न हिँडेका, कोही वेसक्याम्पसम्म मात्र हिँडेका, कोही नाम्चे बजार पुगेर हिमालको रसास्वादन गरेर फिर्ने उद्देश्यले हिँडेका । बाटो देखाउने भारी बोकिदिने र सगरमाथा चढ्न डोरी टाँगिदिने सबै नेपाली ।
त्यसबेला भोजपुरमा चामल तीन रूपैयाँ पाथी थियो क्यारे ! सोलुमा आठ रूपैयाँ पथ्र्यो तर नाम्चे बजारमा तीस रूपैयाँ पाथी । मान्छेहरू भन्थे लुक्ला र नाम्चेबासीहरू सय रूपैयाँ पाथीसम्ममा किनेर खाने सामथ्र्य राख्छन्, त्यहाँ पर्यटकले दिएको पैसा प्रसस्त छ । नाम्चेभन्दा माथि पनि एउटा विमानस्थल थियो स्याङ्वोचे । जापानिजले चलाएको एउटा स्टार होटल र सानो विमानस्थल । पर्यटक बोकेका साना जहाजहरू त्यहाँ अवतरण हुन्थे तर सुरक्षित थिएन । त्यसैले त्यो विमानस्थल पछि बन्द गरियो रे । नाम्चे बजार एउटा पाखामा बसेको थियो । बजारको पुछारबाट माथि हे¥यो भने ठूला ठूला घर देखिने । बजारको सिरानमा गएर हे¥यो भने बजार नै लुप्त ।
हामी नाम्चे बजार पुग्दा बिहानको ९ बजेको हुँदो हो । बजारको तल पानीको धारो थियो । कोप्चाकोप्चीमा तुसारो जमेको थियो, तर धाराको पानी जमेको थिएन, निर्विघ्न धारो झरिरहेको थियो धरर । हामीले मुख धुने साहस ग¥यौँ । मैले झोलाबाट दाँते ब्रस र पेष्ट झिकेर धारो छेउको ढुङ्गामा राखेँ । केही परबाट एउटा मान्छे यतै आइरहेको थियो । म लघुशङ्काका लागि केही पर गएँ र धारापट्टि पिठ्युँ फिराएँ । साथी दीर्घशङ्काका लागि अझ टाढा घारीमा पसेको थियो ।
लघुशङ्काबाट निवृत्त भएर आउँदा दाँते ब्रस मात्रै थियो त्यहाँ पेस्ट थिएन । त्यो अघि आउँदै गरेको मान्छे जाँदै थियो । त्यो विरानो ठाउँमा के नै पो गर्नु थियो र ! यहाँका मान्छेमा अर्काको सामान उठाएर हिँड्नु अधिकारै रहेछ क्यारे जस्तो लाग्यो । यति सुन्दर हिमालहरूको काखमा बस्ने मान्छेहरूको चरित्र किन यति सारो गरीब होला भनेर मन खिन्न भयो । त्यसबेला नाम्चेकी प्रधानपञ्च कुनै महिला थिइन्, सेर्पिनी । अफिसको कामका लागि उनलाई भेट्यौँ र हामी ओरालो झ¥यौँ । नाम्चेको जाडोबाट भागेजस्तो गर्दै । तल बाख्राले नाघ्न सक्ने एउटा खोला थियो । मेरो स्मृतिले आज भनिरहेको छ ‘त्यो दूधकोशी हो ।’ दूधकोशी नै नभए पनि हिउँ पग्लिएर बगेको त्यो नदी पनि दूधकोशीमै मिसिने पक्का थियो ।
जङ्गलमा अग्ला अग्ला रुखहरू बोक्रा केले खाएको होला ? हामीले सोध्यौँ । रुख भालुले खाएको रहेछ । हाम्रो खाना भनेको उसिनेको आलु, पिँडालु र छ्याङ मात्र हो । गरीबका घर जमीनमुनिका बङ्कर जस्ता तर सम्पन्न सेर्पाहरूका भने तल्लो तलामा घोडा, खच्चर, चौँरी र याक राख्ने, माथिल्लो तलामा मान्छे बस्ने । टलक्क टल्काइएका थाल भाँडा सजाइएका, तोङ्वा खाने भाँडाहरू विभिन्न धातुले मोहोरेका, भोटे चिया बनाउने बाँसको ठूलो ढुङ्ग्रो, त्यो पनि तावा वा पित्तलले बाँधिएका । घरमुलीले तोङ्वा खाने भाँडो विशिष्ट प्रकारको अलग्गै । हेर्दै आनन्द लाग्ने भान्साको सजावट, यो सबै महिलाहरूकै नियन्त्रणमा हुँदो रहेछ । पुरुष कुनै कुइरेको भारी बोक्तै छ कि, सगरमाथा चढ्ने पर्यटकका लागि हिउँमा बाटो बनाउँदै छ ।हाम्रो यात्राभरिका अन्नदाता भनेका तिनै सेर्पिनीहरू मात्र थिए । आलु र पिँडालु उसिनेर दिन्थे । टिम्मुर र नुन खोर्सानी पिसेर खान दिन्थे, छ्याङ र तोङवा दिन्थे । धित मरुन्जेल जिस्किन्थे । बोलीचाली ठट्टामस्करी हेर्दा लाग्छ ‘पुरुष घरमा नभएको फाइदा परदेशीले उठायो होला ।’ तर सेर्पिनीहरूको निष्ठा सम्मानयोग्य हुन्थ्यो अर्थात् उनिहरूको निष्ठामा स्पर्श वर्जित हुन्थ्यो । हामी हप्तौँसम्म आलु खान्थ्यौँ, पिँडालु खान्थ्यौँ र दुईवटा हात मोलेर लुँडी झाथ्र्यौं । हप्तौ नधोएका हात पटपटी फुटेका हुन्थे । नाम्चे पुगेर हात मुख धोएको त एउटा अविस्मरणीय घटना पो हो त ।
सत् प्रतिशत दुर्गमस्थान भत्ता पाउँदा पनि हाम्रो तलब मासिक दुई सय नाघ्नेवाला थिएन र पनि हामीमा कुनै पिर थिएन, कुनै चिन्ता थिएन । परिवारप्रतिको जिम्मेवारी पनि थिएन । यतिखेर मलाई लाग्छ ‘माया नभए पछि डर पनि हुँदैन क्यारे ।’ त्यसबेला कसैको माया पनि थिएन र डर पनि थिएन । त्यही जोशमा, त्यही मस्तीमा आफूभन्दा अग्ला सङ्कटहरू आइपर्दा पनि सल्लेरीदेखि नाम्चेसम्मको यात्रा गरेको कुराले आज म विजयोत्सव मनाउँदै छु । वीस वर्षे उमेरमा सल्लेरीदेखि सगरमाथाको काखसम्मको महिनादिने यात्रा मेरा लागि दुर्लभ थियो त्यसबेला, तर मेरो नियतीले सम्भव बनाएकोमा म आफ्नो नियतीलाई पनि आज धन्यवाद दिइरहेको छु ।