ईरानको आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप

ईरानको आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप

तेहरान, असार १९ । ईरानले आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप लगाएको छ ।

ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् । उनले इजरायल र अन्य पश्चिमा मुलुकले यस प्रकारको चोरी गरेको आरोप लगाए ।

ईरानको सिभिल डिफेन्स अर्गनाइजेसनका प्रमुख घोलम रजा जलालीका अनुसार ईरानमा भइरहेको जलवायु परिवर्तन आशंकाको घेरामा छ । उनले विदेशी हस्तक्षेपका कारण ईरानमा जलवायु परिवर्तनको नकारात्मक असर धेरै हुने गरेको बताए ।

ईरानको आकाशमा बादल छाए पनि वर्षा नहोस् भन्ने चाहनाले इजरायल र उसको सहयोगी मुलुकले ईरानी आकाशका बादललाई निस्क्रिय बनाउने गरेको उनको आरोप छ ।

यसअघि ईरानका पूर्वराष्ट्रपति मोहमद अहमदीनेजादले पनि यस प्रकारको आरोप लगाएका थिए । उनले युरोपेली मुलुकले विशेष उपकरण प्रयोग गरी बादललाई कैद गर्ने गरेको आरोप लगाएका थिए ।

ईरानका मौसम विभागका प्रमुख अहद वजिफे भने यस प्रकारको तर्कसँग सहमत छैनन् । उनले बादल कसैले पनि चोरी गर्न नसक्ने बताए । ईरानमा लामो समय खडेरी रहेको स्वीकार गर्दै उनले यसलाई ‘वैश्विक समस्या’ को संज्ञा दिए ।

उनले भने, ‘यस प्रकारका तर्क गर्नु समस्याको समाधान होइन, हामी समाधानको खोजीमा छौं ।’ (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्