रोयोल नामक चिनियाँ कम्पनीले लन्च गर्यो फोल्ड हुने फोन

रोयोल नामक चिनियाँ कम्पनीले लन्च गर्यो फोल्ड हुने फोन

एजेन्सी । फोल्डेबल फोन ल्याउनेबारे यसअघि सामसुङ र हुवावेबीच कडा प्रतिस्पर्धा भएपनि थोरै नाम चलेको कम्पनीले यसलाई पहिले लन्च गरेको छ । २०१२ मा स्थापित रोयोल नामक एक चिनियाँ कम्पनीले सो फोन बुुधबार सार्वजानिक गरेको हो ।
आइटीहोमका अनुसार ‘फ्लेक्सपाइ’ नाम गरेको यस फोल्डेबल फोनको स्क्रिन ७.८ इन्च रहेको छ । त्यसैगरी यसको ब्याट्री भने ३८०० एमएएचको रहेको छ जुन ६० मिनेट चार्ज गर्दा ८० प्रतिशत चार्ज हुने बताइएको हो ।

यसअघि पनि यो कम्पनीले फोल्डेबल थ्रीडी मोबाइल थिएटर ल्याएको थियो भने फ्लेक्जिबल सेन्सर र स्क्रिनमा पनि काम गरिसकेको छ । तरपनि यसको डिजाइनमा भने केही प्रमुख कमजोरी देखिएको प्राविधिकहरुको भनाइ छ । त्यसैगरी मूल्यका हिसाबले पनि धेरै महङ्गो भएको प्रतिक्रिया दिइएको हो । ट्वीटरमा सार्वजनिक एक भिडियोमा चिनियाँ प्राविधिकले यसका सबै फिचरबारे व्याख्या गर्दै देखाएका छन् । जसमा सो फोन, फोल्ड गर्न मिल्ने एउटा सानो ट्याबलेट जस्तो देखा परेको हो । यसरी बाहिरी स्क्रिनबाटै फोल्ड गर्न मिलेपनि फोल्ड गरिसकेपछि भने एउटा सामान्य स्मार्टफोन भन्दा धेरै मोटो र असहज देखिएको हो ।

तरपनि यसमा रहेको डुअल स्क्रिन फिचरमार्फत दुई भिन्दाभिन्दै स्क्रिनमा फरकफरक कन्टेन्ट हेर्न मिल्ने बताइएको छ । यो चीनका केही सीमित स्टोरहरुमा यसै हप्तादेखि बिक्री हुन सक्ने बताइएको छ । त्यसैगरी ६ जीबी र्याम भएको यसको मूल्य इन्टरनल स्टोरेज २५६ जिबी वा ५१५ जीबी मोडल अनुसार १,२९१ डलर देखि सुरु हुने बताइएको छ । यसरी फोल्डेबल फोनको उद्देश्य हाम्रो खल्तीमा अटाउन सक्नु भएपनि यो फोन बोक्न भने सहज नहुने अनुमान गरिएको छ । त्यसैगरी यसमा प्रयोग भएको नयाँ स्नापड्रागन ८१५० अहिलेसम्मकै आधुनिक चिप हो जुन आगामी वर्ष रिलिज हुने सबै नयाँ एन्ड्रोइड फोनमा लगाइने यसअघि बताइएको थियो ।

यस्तोमा रोयोल जस्तो सानो कम्पनीले समेत यति सम्मको फोल्डेबल फोन ल्याइसकेको हुँदा सामसुङ र हुवावे लगायतका ठूला कम्पनीहरुबाट ग्राहकको अपेक्षा झन ठूलो भएको बताइएको छ । धेरैले सामाजिक संजालमा अहिले नै यसबारे उत्साह व्यक्त गरिरहेको बताइएको छ किनकी आगामी हप्ता नै सामसुङले पनि नयाँ फोल्डेबल फोन सार्वजानिक गर्ने तयारी गरिरहेको खबर गरिएको हो । उता हुवावे र एलजी पनि यस प्रकारको फिचरमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्