गरिखानेका कुरा:विदेशको दुख त्यागेर इलामका युवा सुमन कुखुरा व्यवसाय गरेर जीवन धान्दै

गरिखानेका कुरा:विदेशको दुख त्यागेर इलामका युवा सुमन कुखुरा व्यवसाय गरेर जीवन धान्दै

कोकिला ढकाल

इलाम, मङ्सिर ९ गते । वैदेशिक रोजगारीका लागि दुई वर्ष कतार बसेर घर फर्किएका इलाम नगरपालिका–१० का सुमन गोले अचेल विदेश जाने युवालाई सोझै विदेश नजानु भन्ने सल्लाह दिनुहुन्छ । ‘सेक्युरिटी गार्ड’ को काममा कतार बस्दा त्यहाँको गर्मीकै कारण बिरामी भएपछि घर आएर गोलेले अहिले कुखुरा व्यवसाय सञ्चालन गरेको पनि करिब आठ वर्ष भएको छ ।

गोदकस्थित मेची राजमार्गकै नजिक शिलपुरमा कुखुरा फार्म खोलेका गोलेले कुखुराबाट चित्त बुझ्दो आम्दानी हुने गरेको बताउनुभयो । विदेशमा सजिलै पैसा कमाइन्छ भन्ने धेरैको बुझाइ छ तर विदेश गएर कमाउन त्यति सजिलो छैन, जति आफ्नो गाउँ–घर र आफ्नै देशमा बसेर जुनसुकै व्यवसाय गर्दा पनि सहज हुन्छ, गोले भन्नुहुन्छ, म त कसैलाई पनि विदेश नजाउ भन्छु । विदेश जाँदा गर्ने लगानी यहीँ गर्दा त्यो उत्तम हुन्छ । 

गोलेले कुखुराका चल्ला हुर्काउने, छरछिमेकमा पालेका बिक्रीका लागि योग्य कुखुरा पनि आफैं किनिदिने र काटेर मासु पनि बेच्ने गर्नुभएको छ । दुई सय २० रुपियाँ प्रतिकिलोको ब्रोइलर जातको कुखुरा अझ मासु बनाएर बिक्री गर्दा केही बढी आम्दानी हुने उहाँ बताउनुहुन्छ । बजारका लागि खासै टाढा लानुपर्दैन, घर र माइखोला राजदुवाली सम्ममै यहाँको सबै कुखुरा खपत हुने गरेको छ, गोलेले भन्नुभयो, प्रायः कुखुराको माग बढी नै हुने गरेको छ । गाउँघर–छरछिमेकको विवाह अथवा अन्य कामका लागि पनि कुखुराले राम्रो भरथेग गरेको गोलेको भनाइ छ ।

इलाम नगरपालिका–४ स्थित महानन्द ओझा गाउँमा व्यवसाय गर्ने अर्को राम्रो उदाहरण बन्नुभएको छ । २०७१ देखि कुखुरापालन शुरु गर्नुभएका ओझाले लेयर्स कुखुरामात्र पाल्नुहुन्छ । अण्डा उत्पादन गर्दा त्यसको बजार धेरै राम्रो भएको ओझाको भनाइ छ । दश वर्षको वैदेशिक रोजगारीपछि फर्किएकी श्रीमतीले पनि जाँगर चलाएपछि व्यवसाय शुरु गरेको ओझाको भनाइ छ । १७ सय कुखुराबाट शुरु गरेको कुखुरा फार्ममा अहिले २३ सय कुखुरा छन् । एउटा कुखुराले दुई वर्षसम्म अण्डा दिने गरेको छ । एक महिनामा एउटा कुखुराले २२ देखि २४ वटा अण्डा दिने गरेको ओझाको भनाइ छ ।

प्रतिगोटा साढे एघार रुपियाँका दरले बिक्री हुने अण्डालाई ओझा परिवार आफैंले बजार पनि पु¥याउनु पर्दैन । अण्डा लिन प्रायः सबै घरमै आउँछन्, यो अण्डाले इलाम बजारको एक छेउ पनि धान्न सकेको छैन, ओझाले भन्नुभयो, गर्न र खट्न सक्दा आम्दानी राम्रै हुन्छ । पाँचथरको प्राङबुङस्थायी घर भएका ओझा २०५८ सालमा शसस्त्र द्वन्द्वका समयमा विस्थापित भएर इलाम–४ मा आएर बस्न थाल्नुभएको हो ।

३२ रोपनी जग्गा लिएर किबी र अलैँची खेती समेत गरेका ओझालाई कृषिजन्य उत्पादनका लागि यही कुखुराले राम्रो सहयोग गरेको छ । कुखुराको सुली प्रयोग गरेर अर्गानिक खेती गरिरहेको छु, ओझा भन्नुहुन्छ–बर्सेनि रासायनिक मल र विषादीका कारण गाउँघरको माटोको अम्लीयपना (पीएच) बिग्रिएका बेला कुखुराको मलले खेती बालीलाई राम्रो गर्दो रहेछ, कुखुराले दोहोरो फाइदा पुगेको जस्तो लाग्छ । म आफू अवकास प्राप्त शिक्षक, श्रीमति पनि वैदेशिक रोजगारी गरेर आएकी हुन्, ओझाले भन्नुभयो, तर वैदेशिक रोजगारी भन्दा यहींंको व्यवसाय र कमाइ आनन्दको लाग्छ, कोही विदेश जाँदैछन् भने पनि एक पटक विदेश जाँदाको लगानी र विदेशको दुःख तथा कमाइको मूल्याङ्कन गर्न सल्लाह दिने गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्