भद्रपुर, ११ पुस । झगडा लिएर पुलिससम्म, वडा कार्यालयमा जानुहुन्छ? झगडाबारे प्रश्नमा उल्टै प्रतिप्रश्न गर्दै सीमा गणेशले भनिन्, ‘त्यस्तो हुँदैन हाम्रो गाउँमा। कोही रक्सी कतै खाएर आई घरमा अलि बढी हो हल्ला गर्यो भने महिलाले सोझै प्रहरीकहाँ लगिदिन्छु भनेपछि आफैं चुप लाग्छन्।’
०३४ सालमा झापाको हल्दीबारीबाट मेचीनदी पारि जमिनदारहरूले ल्याएर राखिदिए। त्यतिबेला ४०–५० झुप्रा मात्र थिए। अहिले थपिएर एक सय ३५ घर पुगेका छन्। ‘त्यो बेलादेखि आजसम्म गाउँका मान्छे झगडा गरेर छलफलमा बस्नुपरेको छैन’, स्थानीय अगुवा विजय महतोले सुनाए। महतोका अनुसार १५ वर्ष अघिसम्म भारतीय एसएसबीको बिट नेपाल–भारत सिमानामा नबसुन्जेल यो ठाउँमा भारतीयहरूले दिनरात आउने गाईबस्तु फुकाएर लैजाने गर्थे। सामान चोरी हुन्थ्यो। छोरीबुहारी जोगाउन पनि कठिन थियो गाउँलेलाई।
मेची नदी पारीको यो गाउँ हिजोआज शान्ति क्षेत्रकै रूपमा चिनिएको छ। स्थानीय पुष्पा राजवंशीका अनुसार घर–घरमा सासु–बुहारी, जेठानी–देवरानीका सामान्य विवाद भए पनि घरबाट निस्केको कुरा आँगनको बेराभन्दा बाहिर जाने गरेको छैन। ‘यहाँका मान्छे साँध–सिमानाका विषय लिएर आउँदैनन्, किनभने सबै ऐलानी जग्गा भएकोले बाँचुन्जेल गरिखाने र ठाउँ नछोडुन्जेल मेरो भन्न पाइने थियो’, भद्रपुर ३ का जनप्रतिनिधि अरुण राजवंशी भन्छन्, ‘अहिले यही गाउँभित्रै किनबेच त गर्छन् धनीपुर्जा पनि छ तर कर तिर्ने गरेका छैनन्। त्यसैले जसले जति सक्छ त्यति जग्गा पायो त्यति नै गर्दै छन्।’
अरुणका अनुसार यहाँका अधिकांश बासिन्दा सरकारी कार्यालयमा गएर कुनै काम कसरी गर्ने, कहाँ गएर के राहत पाउने? कहाँ गएर जागिर पाइन्छ? विदेश जान लागेको के के कागज चाहिन्छ लगायत कुरा लिएर जनप्रतिनिधिसमक्ष आउने गर्छन्। गाउँमा एउटा प्रहरी बिट छ। असई लीलाबहादुर खड्काको नेतृत्वमा ६ जनाको टोलीले सिंगो मेचीपारि गाउँमा सुरक्षा दिने गर्छ। ‘यो ठाउँमा आएको ६ महिना भयो। अहिलेसम्म कोही झगडाको केस लिएर आएका छैनन्,’ खड्का भन्छन्, ‘यो गाउँमा मान्छेलाई झगडा गर्ने फुर्सद नै छैन।’
खड्काका अनुसार युवाहरू बिहानै मेचीपारि भद्रपुर बजार र बिर्तामोडसम्म मजदुरी काम गर्न जान्छन्। वृद्ध र महिलाहरू दिनभरि खेतिपातीमा व्यस्त हुन्छन्। ‘के गर्छ न्यायिक समितिले नाम पनि बल्ल सुन्दै छु , झगडा कोसँग गर्नु? भोलि गाह्रो पर्दा छिमेकी नै चाहिन्छ’, विनिता महतो भन्छिन्, ‘हाम्रो सासू ससुरासँग हाम्रो कुरा मिल्दैन भन्दैमा घरको कुरा बाहिर कसलाई सुनाउनू? यो गाउँमा झगडाको समस्या छैन। हामीलाई झगडाको न्यायभन्दा सरकारको न्याय चाहिएको छ।’
नगरपालिकामा न्यायिक समिति बनेपश्चात् नगरपालिकाका उपप्रमुखलाई मुद्दा हेर्न भ्याइनभ्याई छ। भद्रपुर नगरपालिकाले मात्र निर्वाचित भएर गएको ३ महिनामा न्यायिक समिति बनेदेखि हालसम्म करिब ८० वटा मुद्दा हेरिसकेको नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ बताउँछिन्।
न्यायिक समितिले ३ नम्बर वडामा हालसम्म १५ वटा मुद्दा हेरिसकेको छ। तर मेचीपारिको गाउँबाट वडा कार्यालयमा झै झगडाको मुद्दा एउटा पनि नआएको वडाध्यक्ष कमला थुलुङले बताइन्। उनका अनुसार वडा कार्यालयमा ३ जना न्यायिक समितिमा छन्। न्यायिक समिति सदस्यहरूलाई कहिलेकाहीँ भ्याइनभ्याई हुन्छ। तीमध्ये सबै मेचीवारिका मात्र छन्। मेचीपारिको गाउँमा अशिक्षा छ। अविकसित भएर पनि शान्ति क्षेत्र बनेको छ। पारिबाट आउने जाली फटाहाले दुःख दिन छाडेपछि मेची नदी पारीको नेपालमा चोरी र झगडाको आवाज नसुनिएको स्थानीयको कथन छ। अन्नपुर्ण पाेष्टबाट