गरिखानेको कथा : कुनै बेला हातमा बन्दुक बोक्ने राजकुमार आज कुखुरापालनमा मस्त

गरिखानेको कथा : कुनै बेला हातमा बन्दुक बोक्ने राजकुमार आज कुखुरापालनमा मस्त

सिराजुद्दिन खान

नेपालगञ्ज, माघ ११ गते । तत्कालीन नेकपा माओवादीले थालेको वर्गीय मुक्तिको आन्दोलनमा होमिएर बन्दुकसमेत चलाएका बाँके खजुरा निवासी राजकुमार विकका हातहरू अहिले कुखुरालाई दाना खुवाउन व्यस्त छन् । गत चार वर्षदेखि विक कुखुरापालनसँगै राजनीतिमा रमाइरहनुभएको छ । हाल उहाँले दुई हजार कुखुरापालन गर्नुभएको छ । पाँच कट्ठा जग्गामा कुखुरापालन गरिरहनुभएका उहाँले वार्षिक रूपमा पाँच लाख रुपियाँ आम्दानी गरिरहेको बताउनुभयो ।

राजनीति मात्रै होइन, अब उत्पादन क्षेत्रमा पनि हात हाल्नुपर्छ भन्ने लागेर पार्टीको सिद्धान्तअनुसार कुखुरापालन शुरु गरेको राजनीतिमा लामो समय बिताएका विकले बताउनुभयो । यो व्यवसायले उहाँलाई घर खर्च धान्नुका साथै राजनीतिमा ठूलो सहयोग गरिरहेको छ । अब हरेक युवा उत्पादन क्षेत्रसँग जोडिनुपर्छ, विक भन्नुहुन्छ, म आफ्नो तर्फबाट पनि युवाका लागि पहल गर्नेछु ।
बाँकेमा कुखुरापालन, बाख्रापालन, गाईपालनलगायत तरकारी खेतीमा अझै धेरै ठूलो अवसर रहेको जनाउँदै उहाँले कुखुरा बिक्रीका लागि कुनै पनि समस्या नरहेको बताउनुभयो । देशलाई समृद्ध बनाउनका लागि हरेक नेपालीले उत्पादन क्षेत्रसंँग जोडिनु आवश्यक रहेको विकको भनाइ छ । उहाँले आफूले युवालाई कृषिमा लाग्न आग्रह गर्दै आएको बताउनुभयो ।

१६ वर्षको उमेरबाटै राजनीतिमा प्रवेश गरेर एरिया मिलेसिया कमाण्डरको जिम्मेवारी पाएका विकले जनसेनाको सिपाही भई पश्चिमदेखि पूर्वाञ्चलसम्मको जिम्मेवारी पाउनुभएको थियो ।

पार्टीको निर्देशनमा पूर्वबाट फर्केर नेपालगञ्ज सहरमा अरमान गुरिल्लाको सेक्सन कमाण्डरसमेत उहाँलाई बनाइयो । उहाँ फौजी कारबाहीमा घाइते हुनुभयो ।
२०६२ सालमा कम्पनी कमाण्डरको जिम्मेवारी सम्हाल्दै गर्दा कालीकोटको पिलिमा फौजी कारबाहीमा परेर गम्भीर घाइते भएको विक बताउनुहुन्छ । शान्ति प्रक्रियापछि उहाँले वाइसिएलको राजनीति गर्नुभयोे । त्यसपछि उहाँ पार्टीको खजुरा गाउँपालिका सचिवमा निर्वाचित हुनुभयो ।

एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाले उहाँलाई अहिले खजुरा गाउँपालिकाको अध्यक्ष बनाएको छ । आफूलाई गाउँपालिकाको अध्यक्ष बनाएकोमा पार्टीले आफ्नो योगदानको मूल्याङ्कन गरेको ठान्नुहुन्छ उहाँ । जगतीपुर ३, जाजरकोटमा जन्मिनुभएका विकले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने, जनजीविकासँग जोडिएका सवालमा पार्टीको सल्लाह, सुझाव तथा निर्देशनमा तीनै तहको सरकारसँग समन्वय गरेर अगाडि बढ्ने, युवालाई उत्पादनसँग जोड्ने खालका कार्यक्रमका लागि पहल गर्ने लगायतका योजना बनाएको बताउनुहुन्छ ।

यस्तै सुकुम्बासी, भूमिहीनका समस्यालाई पार्टीको पहलमा समाधान गर्ने, मानखोला कटान नियन्त्रणका लागि आवश्यक पहल गर्ने, खजुरा क्षेत्रलाई कृषि, पशुपक्षी, बीउबिजनको पकेट क्षेत्रका रूपमा पहल गर्ने उहाँका योजना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्