कविता : “आयोजक र सुन्दरी प्रतियोगीता” – निलु भट्टराई

कविता : “आयोजक र सुन्दरी प्रतियोगीता” – निलु भट्टराई

तिमी त सुन्दरता खोज्दै तारे होटलहरूमा
सुन्दरी प्रतियोगीता गर्दै छौ रे
हे दृष्टि बिहीन सपुतहरू हो
सॉचै सुन्दरी मेरा दिदी बहिनीहरू त
हिमालमा भेडा चराउँदै छन्
पाहाडमा भारी बोक्दैछन्
तराईमा तरक्क पसिना चुहाएर
क्ष्रम गर्दै छन र छैन्न सहभागी
तिम्रो प्रतियोगीतामा
सुन्दर भएकैले विदेशमा बेचिएका
जुनु र सुनतलीहरू

मलाई थाहा छैन
तिमो सुन्दरताको परिभाषाल र
सहभागी हुनुपनि छैन तिमो प्रतियोगीतामा
तर प्रश्न छ
के ठेला नउठेका हत्केलाहरू पनि
सुन्दर हुन्छन् र?
के पसिनाका थोपाहरू नटल्केका निधार पनि
सुन्दर हुन्छ र?
नढाँटी भन,
तातो घाम र चिसो सिरेटोसँग
संघर्ष गर्न नसकेर
एयर कन्डिसन कोठा भित्त्र कैद जीवन
के साँच्चै सुन्दर हुन्छ र?

यदि साँचै तिमीसँग संसार नियालन सक्ने
दृष्टि छ भने
सुन्दरी प्रतियोगीताको पूर्व संध्यामा
एक पटक आफ्नै आमालाई हेर
चाउरीएर मुझा परेका आमाका गाला
के सुन्दर छैनन् र?
तिमी आफैले निदाउने गरेको
आमाको काख
के सुन्दर छैन र?
धाँजा फाटेका आमाको कुर्कुच्चाहरूले
संसार टेकेर
के असंख्य सन्तानहरूका
जीवन बोकेको छैन र?
त्यसमा किन सौन्दर्य देख्दैनौ तिमी
आमाको सेतै फुलेको केशराशीसँग
प्रतिस्पर्धा गर्ने सामर्थ्य छ
तिम्रा हेयर कलरहरूसँग?

हेर आमा आफैमा कति सुन्दर छिन्
अनि तिनै आमाका सन्तानलाई
कुन कसीमा राखेर मापन गर्छौ सौन्दर्य?
हरेक सन्तानहरू त्यति नै सवल र सक्षम छन्
हरेक सन्तानहरू त्यति नै सुन्दर छन्
जसरी कचंनजड्गा र ल्वत्से छन्
मकालु र सगरमाथा छन्
रारा र से.फोक्सुण्डो छन्
फेवा र तिलिचो छन्
कर्णाली र सेती छन्
मेची र महाकाली छन्

तिमीसँग सौन्दर्य मापन गर्ने
कुनै त्यस्तो यन्त्र छ भने भन,
कचंनजड्गा र ल्वत्से कुन हिमालको हिउँ सुन्दर छ?
भन,सेती र कर्णाली कुन नदीको पानी सुन्दर छ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्