राजमार्ग खुलाउन सर्लाहीमा हवाई फायर, एकको मृत्यु एक दर्जन घाईते

राजमार्ग खुलाउन सर्लाहीमा हवाई फायर, एकको मृत्यु  एक दर्जन घाईते

जनकपुर १५ असार । खाल्डोमा डुबेर बालकको मृत्युपछि आक्रोशित स्थानीयले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झडपमा स्थानीय र प्रहरीसहित १ दर्जन घाइते छन् । ४ जना स्थानीयलाई गोली लागेको छ ।

बाँके खोलाबाट बालुवा–गिट्टी झिक्दा भएको खाल्डोमा डुबेर एक १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले आइतबार अपरान्ह पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गर्न पुगेका थिए । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार राजमार्ग खुलाउने क्रममा प्रहरीले हवाइ फायर गर्दा सर्लाही, इश्वरपुर–१३ बस्ने २७ वर्षका केवल महतोको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । इश्वरपुर नगरपालिका–१३ गौरीशंकरस्थित बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर लाले रायका छोरा अमितको दिउँसो मृत्यु भएको थियो । उनको मृत शरिर आइतबार मात्र फेला परेको थियो ।
आक्रोसित स्थानीयले ६ किलोमिटर टाढा पूर्व–पश्चिम राजमार्गमा शव लिएर प्रदर्शनमा उत्रिएपछि त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बाक्लो पारिएको थियो ।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्कीका अनुसार राजमार्ग अवरुद्ध हटाउन सुरक्षाकर्मीले धेरैपटक आग्रह गर्दा पनि प्रदर्शनकारी टुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्