गरिखानेको कथा : लहानमा मूर्तिकारको वार्षिक कमाई पाँच लाखभन्दा बढी

गरिखानेको कथा : लहानमा मूर्तिकारको वार्षिक कमाई पाँच लाखभन्दा बढी

जिवछ यादव- 
लहान, भदौ १  गते । माटोमा कला निखार्ने देवी देवताको स्वरुप उतार्ने मूर्तिकलाकार कुम्हार जातिले वर्षको नौमहिना मूर्ति बनाएर पाँचलाख रुपियाँ आम्दानी गर्न भ्याइरहेको छ ।

प्रदेश २ का जिल्लामा हिन्दुले मनाउने विभिन्न पर्व र यज्ञहरुमा मूर्ति बनाउने कलाकारले राम्रो आम्दानी गरिरहेका छन् ।

कृष्णाजन्मष्टमीको लागि लहानको लोकतान्त्रिक चोकमा कृष्णको मूर्ति बनाउन व्यस्त बलरामका अनुसार न्यूनतम २५ हजार र अधिकतम एकलाख रुपियाँसम्म मूर्ति पर्दछ ।

ऋतु अनुसार चारमहिना त भ्याई न भ्याई हुन्छ । बाँकी पाँच महिनामा कामको चाप कम रहन्छ । विदेशको कमाई आफ्नै गाँउ ठाँउमा हुने गरेकाले कहिले पनि विदेश जाने रहर नभएको उहाँ बताउनुहुन्छ ।

लहान ४ र ८ वडामा रहेको दुईसय घरपरिवार कुम्हार जातिको रहेको छ । त्यस जातिका अधिकांश युवा यस्तै मूर्ति र माटोजन्य भाडा बनाएर राम्रो कमाई गरिरहेका छन् ।

कुम्हार जातिका अगुवा मध्ये रामचन्द्र पण्डित भन्नुहुन्छ –‘कुम्हार जाति राजनीति र शिक्षामा पछाडि परेको अल्प संख्यक जातिको रुपमा छन् । मूर्ति र अन्य सामग्री बनाएर स्थानीय ठाँउमा बेच्न वाध्य छन् ।’

उहाँका अनुसार मूर्तिलाई विदेश निर्यात गर्ने व्यवस्था सरकारले गरिदिए अन्य जातिको युवालाई पनि स्वरोजगार दिन सकिने सम्भावना छ ।

लहानको कुम्हार जातिको उत्थानको लागि मूर्ति उद्योग सञ्चालन गर्नुपर्ने पण्डितको भनाई छ । प्लाष्टिक जन्य सामग्रीहरुको बजारमा विगविगी रहेको कारण माटोको सामग्रीहरुको विक्री कम हुँदै जान थालेकाले त्यस्ता माटोको घरेलु सामग्रीहरुलाई महत्व नदिँदा कमाईको समय चाडपर्व मात्र भएकोमा उहाँले दुखेसो पोख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्