जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यलयकाे एउटा कोठाबाटै जिल्लाको निगरानी

जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यलयकाे एउटा कोठाबाटै जिल्लाको निगरानी

इलाम । इलामको जिल्ला प्रहरी कार्यालयले कार्यालयको एउटा कोठाबाटै जिल्लाको निगरानी गर्न थालेको छ । अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सीसी क्यामेरा जोडेर निगरानी थालेको हो । प्रदेश सरकारबाट प्राप्त भएको २७ लाख रूपैयाँ बजेटबाट इलामका विभिन्न बजार र चोकहरुमा ३४ वटा सीसी क्यामेरा जडान गरेर निगरानी थालेको कार्यालयको भनाइ छ ।

इलाम बजारमा १० वटा, फिक्कलमा आठ वटा, पशुपतिनगरमा आठ वटा र मङ्गलबारेमा आठ वटा सीसी क्यामेरा जडान गरी निगरानी गर्न थालेको इलामका प्रहरी उपरिक्षक हिराबहाद्र पाण्डेले बताएका छन् । बजार क्षेत्रमा बढी अपराध, दुर्घटना बढेको र बजारमा सामान हराउने उजुरीसमेत बढेसँगै प्रहरीले निगरानी बढाएको हो ।

बजार क्षेत्रमा १० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएर त्यसमार्पmत क्यामेरा र टीभीको कनेक्सन गरिएको छ । क्यामेरामा एक महिना अघिसम्मको रेकर्ड रहने गरी मिलाइएको जिप्रकाले जनाएको छ ।

क्यामेरा जडानपछि कार्यलयले चोरी भएका दुईवटा मोटरसाइकल पत्ता लगाएर फेला पारिसकेको पनि जनाइएको छ । ती मोटरसाइकल इलामको धोवीधारा र इलाम चोक बजारबाट हराएका थिए । त्यसमध्ये एउटा मोटरसाइकल धोबीधारा देखि तल मेची राजमार्गमै लगेर छाडिएको अवस्थामा भेटिएको थियो भने चोक बजारबाट हराएको मोटरसाइकल पनि केही पर लगेर छाडेर भागेको कार्यालयले जनाएको छ ।

सीसी क्यामेराको निगरानीले सडकमा हुने दुर्घटनाको पनि नियन्त्रण हुने प्रहरी कार्यलयको भनाई छ । अब जिल्लाका अन्य ठाउँमा पनि क्यामेरा जडान गर्ने तयारी रहेको छ । यसअघि झापा र इलामको सिमानामा मात्र सीसी क्यामेराबाट निगरानी भइरहेको थियो । कार्यालयले इलामको चोकबजार, धोवीधारा, जिरो किलोमिटर, बिब्ल्याँटे, नेपाल बैंक छेउ, टुँडिखेल, अस्पताल छेउ, बसपार्क, ट्याक्सी स्टेण्ड र शान्ति चोकमा सीसी क्यामेरा जडान गरेको हो । ती सबै क्यामेरामा कैद भएका श्रब्यदृश्य सामग्री (भिडियो) जिल्ला प्रहरी कार्यालयमा रेकर्ड हुने र त्यहाँबाट हेर्न सकिने ब्यवस्था गरिएको छ ।

ती दृश्यहरु निगरानीका लागि कार्यालयले हरेक दिन प्रहरी राख्ने गरेको छ । कहिँ कतै कुनै घटना भइहालेको खण्डमा तत्काल प्रहरी परिचालन गर्न सकिने समेत कार्यालयको भनाई छ । प्रहरी कार्यालयबाटै जिल्लाका अरु भागमा रहेका सीसी क्यामेराको भिडियो पनि हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्