साहित्य संसार :लामखुट्टे – मिथिलेश आदित्य

साहित्य संसार :लामखुट्टे – मिथिलेश आदित्य

लामखुट्टेको दुर्बल समाज,
वातावरण र जिन्दगी देखेर
मान्छे गर्दे आइरहेकोछ
उसको हत्या
साथै आरोपको कठघरामा उभिएर
उद्घोष गरिरहेछ —
लामखुट्टे रगत पिएर फैलाइरहेछ
मलेरिया /फ्लेरिया /डेंगु
र अन्य धेरै रोगहरू
र भनिरहेछ
यसले न आनन्दले सुत्न दिन्छ
न निर्धक्क ब्युँझन।
सधैँ कान नजिक आएर
बिना कारण गुनगुनाउँछ
विरहको उदास गीत।

मान्छे दुःखी छ ऊसँग।

मान्छे र लामखुट्टेबिचको
यो द्वन्द्वात्मक समाचार सुनेर
आज म लामखुट्टेमाथि
गम्भीर सोध गरिरहेको छु
संवेदनशील छु उप्रति,
उसको चिन्तन स्वभाव र कर्मलाई
पढिरहेछु।
लामखुट्टे रगत पिउँदैन
रगत जाँच्छ
मानिसको नसा—नसामा
राष्ट्रप्रेम, समाज र मान्छेप्रति
ऊभित्र रगत बग्छ कि बग्दैन
सेवा भाव उसको मनभित्र छ कि छैन ।

अर्थात् लामखुट्टे
मान्छेका सम्पूर्ण काम परीक्षण गरेर
मान्छेका मानसिकतासँग निकट हुँदै
मान्छेको कान नजिक गएर
राष्ट्रभक्ति को गीत गुनगुनाउँछ
र जागरूक बनाउँछ मन र मस्तिष्क
इमानदारीसँगै—
राष्ट्रप्रेम, समाज र मान्छेप्रति
स्नेह बढाउन चाहन्छ
र सचेत गराउँछ स्वास्थ्यप्रति ।

तर अफसोस
लामखुट्टेको सानो संसारमा
उसको सूक्ष्म स्वरूप देखेर
ऊमाथि कसैको सकारात्मक दृष्टि छैन
उसको कुनै इज्जत छैन
मान्छे उसको स्वभावलाई चिन्न चाहँदैन
ऊबाट धेरै सिक्नुपर्ने हो मान्छेले
तर अचम्म ! सिक्न चाहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्