सांसद आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताद्धारा सडकमा टायर बालेर विरोध प्रर्दशन

सांसद आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताद्धारा सडकमा टायर बालेर विरोध प्रर्दशन

रौतहट, २७ असोज । सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्लाभरि सुरक्षाव्यवस्था कडा बनाइएको छ ।
बम विस्फोटमा परेका घाइतेहरुलाई इटाभट्टामा जलाएर मारेको आरोपमा कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको थियो । उनी पक्राउ परेको केही समय पछि कांग्रेस कार्यकर्ता प्रहरी कार्यालय अगाडि बसेर विरोधको तयारी गरेका थिए । भीड बढ्न थालेपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेर तितर बितर गरेको थियो ।
बिहानदेखि सदरमुकाम गौरका विभिन्न स्थानमा कार्यकर्ताले टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले सुरक्षाकर्मिको अवस्था हेरेर बाटो अवरुद्धको प्रयास गरिरहेका छन् । तत्कालै सुरक्षाकर्मी पुगेर बाटो खुलाएका छन् । जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले सांसद आलम पक्राउको विरोधमा कार्यकर्ताहरुले केहीस्थानमा टायर बालेर बसेको बताए । गौरको बसपार्क, सबगढा, राजपुर फरदहवा, जयनगर, कोपवा लगायतका स्थानमा आलम समर्थकले टायर बालेर विरोध गरिरहेका छन् ।
जिल्ला भित्र कुनै किसिमको अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । ‘कानुन हातमा लिएर कुनै किसिमको गतिविधि नहोस भन्नेमा हामीले उच्च सतर्कता अपनाएका छौं,’उनले भने, ‘कानुन र अदालतको सबैले सम्मान गर्नुपर्छ ।’ घटनापछि अहिले सम्म १२ वर्षको अवधिमा जिल्ला प्रहरी रौतहटमा १६ जना एसपीको सरुवा भएको थियो । ति मध्ये सांसद आलमलाई पक्रन कसैले हिम्मत गरेको देखिदैन् । एसपी खत्रीले अदालतको उच्च कदर गर्दै आलमलाई पक्राउ गरेको पुष्टि गरे । संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आलम त्यति बेला रौतहट २ मा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । राजनीतिक संरक्षणका आधारमा ‘मुद्धा नचल्ने’ भनी महान्यायाधिवक्ता कार्यालयले गरेको त्यति बेलाको निर्णय उल्ट्याउनु र अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएको समेत झन्डै साढे सात वर्षपछि उनलाई प्रहरीले पक्रेको हो ।
ईकान्तिरपुरको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्