कृष्णबहादुर महराद्धारा अनुसन्धानमा असहयोग, डीएनए परीक्षण गर्न रगत दिन मानेन्

कृष्णबहादुर महराद्धारा अनुसन्धानमा असहयोग, डीएनए परीक्षण गर्न रगत दिन मानेन्

काठमाण्डौ ,१४ कात्तिक । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो ।
अपराधस्थल भनिएको सुविधानगर स्थित घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको तलुवा लगायतका सामग्री महराको हो – होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्ने तयारी प्रहरीले गरेको थियो । प्रारम्भमा रगत दिन इन्कार गरेपछि प्रहरीले अदालत गुहारेको थियो । जिल्ला अदालत, काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो । न्यायाधीश सुदर्शनराज पाण्डेको आदेशले ७ दिन म्याद थप गर्दै रगत दिन आदेश दिएको थियो । डीएनए परीक्षणविना आरोपबारे अनुसन्धान गर्न नसकिने अनुसन्धान अधिकृतको दाबी थियो ।
तर, अदालतको आदेश पनि महराले टेरेनन् । काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘उहाँले रगत दिन नमान्नु भएको व्यहोरा उल्लेख गरेर मिसिल बुझाएका छौं ।’ प्रहरीले घटनास्थलबाट बरामद गरेको मदिराको बोतल, चस्मा, जुत्ताको तलुवालगायतको फिंगर प्रिन्ट निकालेर परीक्षण गराएको छ । बरामद फिंगर प्रिन्टलाई फरेन्सिक जाँचमार्फत महराको फिंगर प्रिन्टसँग जुधाइएको थियो । तर, त्यसको नतिजाबारे हालसम्म सार्वजनिक गरिएको छैन ।
अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्