विभिन्न बैङ्किङ सुरक्षा समस्याले बचतकर्ता द्विविधामा,कत्तिको सुरक्षित छ बैङ्किङ?

विभिन्न बैङ्किङ सुरक्षा समस्याले बचतकर्ता द्विविधामा,कत्तिको सुरक्षित छ बैङ्किङ?

भेषराज बेल्बासे

काठमाडौँ, मङ्सिर १२ गते । सर्वसाधारणले अत्यधिक विश्वास गर्दै आएको बैङ्किङ क्षेत्रमा पछिल्लो समय देखिएका विभिन्न बैङ्किङ सुरक्षा समस्याले बचतकर्तालाई द्विविधामा पार्न थालेको छ ।
बैङ्ककै कर्मचारीको प्रत्यक्ष संलग्नता तथा गलत मनोवृत्ति र प्रविधिले भिœयाउँदै आएका विकृतिले यस्ता समस्या बढ्दै गएका छन् । बैङ्किङ विज्ञ अनलराज भट्टराई बैङ्कमा पैसा छ, सुरक्षित छ भनेर बस्न नहुने सुझाव दिनुहुन्छ । पछिल्लो बैङ्किङ ठगीको शृङ्खलालाई हेर्दा बैङ्कको प्रणालीमा कमजोरी देखिएको नभई मानवीय गलत नियत र प्रविधिको दुरुपयोग बढी देखिएको भन्दै उहाँले यस्ता समस्या न्यूनीकरणका लागि बचतकर्तामा पनि सचेतना आउनुपर्ने बताउनुहुन्छ ।

बैङ्कमा पैसा छ, सुरक्षित छ भनेर ढुक्क भएर बस्न नहुने भन्दै उहाँले पछिल्ला सुविधा एसएमएस बैङ्किङ सुविधा अवलम्बन गर्नुका साथै खातामा रहेको रकमबारे अपडेट हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय आक्रामक ढङ्गले शाखा सञ्जाल बढाउनतिर लागेका बैङ्क तथा वित्तीय संस्थामा मानव संशाधनको पक्ष फितलो हुँदै गएका कारण बैङ्किङ प्रणाली नै नबुझेकाहरू पनि बैङ्कमा जागिर खान पुग्दा त्यसको समस्याले समग्र बैङ्कको साख नै समस्यामा पर्ने गरेको बैङ्किङ विज्ञ भट्टराईको अनुभव छ ।

बैङ्कमा सक्षम कर्मचारीभन्दा पनि कर्मचारी भए पुग्ने अवस्था आएको छ, पछिल्लो दुई वर्षमा दुई हजारभन्दा बढी शाखा थपिएका छन् सुरक्षा गार्ड समेत एउटा शाखामा १० जनाकै दरले हेर्ने हो २० हजार नयाँ कर्मचारी भर्ना भएको देखिन्छ । सबैमा गुणस्तर कायम भएको छ भन्न सक्ने अवस्था छैन ।
बैङ्कमा राखेको पैसा बैङ्ककै कर्मचारीको लापरबाहीबाट अर्कै व्यक्तिले पैसा झिकेर हिँड्ने खालका प्रवृत्ति बढ्नुले एकातिर बैङ्कको सेवामा सर्वसाधारणको विश्वास घट्दै गएको छ भने अर्कोतिर बैङ्कमा राम्रो काम गरिरहेका कर्मचारीलाई पनि शङ्काको घेरामा पार्ने देखिएको छ । तीन महिना अगाडि चिनियाँ ह्याकरले एटीएमको स्विच ह्याक गरेर करोडौैँ रकम निकालेका थिए । कृषि विकास बैङ्क र पानस रेमिटको सफ्टवेयर ह्याक गरेर असोजमा रकम निकालिएको थियो । उनीहरूको पाँच अर्ब रुपियाँ निकाल्ने योजना प्रहरीको सक्रियताले तुहाइदिएको थियो । ती घटनामा संलग्न चिनियाँसहित नेपाली पनि अहिले पनि कारबाहीका लागि थुनामा रहेका छन् । जनता बैङ्कबाट नक्कली हस्ताक्षर गरी चेक बनाएर रकम चोरी गर्ने गिरोहबाट प्रहरीले चारवटा वाणिज्य बैङ्क र दुईवटा विकास बैङ्क गरी छवटा बैङ्कका ग्राहकको नक्कली चेकसमेत बुधबार बरामद गरेको छ ।

बरामद भएका चेकमा एनआईसी एसियाको काटिएको ६८ थान चेक, माछापुच्छ«े बैङ्कको १७ थान नकाटिएको र २ थान काटिएको, एभरेष्ट बैङ्कको २० थान नकाटिएको र ३ थान काटिएको चेक, जनता बैङ्कको ४१ थान काटिएको र १६ थान नकाटिएको चेक, ज्योति विकास बैङ्कको एक थान चेक र मुक्तिनाथ विकास बैङ्कको ४१ थान काटिएको र १ थान नकाटिएको चेक विभिन्न नामका खातावालाको भेटिएको छ ।
बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका पछिल्ला घटनाबाट ग्राहक तथा स्वयम् बैङ्कहरू सचेत हुनुपर्ने नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ । राष्ट्र बैङ्कका भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रले मान्छेको गलत नियत र प्रविधिकै दुरुपयोग व्यवस्थापन गर्ने विषय जटिल भएकाले यस्ता कुरामा बैङ्कका ग्राहक समेत सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

घटनाबाट सम्पत्ति सुरक्षित भइसके पनि आमसर्वसाधारणमा बढ्ने त्रासले नकारात्मक सन्देश प्रवाह गर्ने गरेकाले बैङ्क तथा वित्तीय संस्थाले पनि उचित ख्याल गर्न‘पर्ने बताउनुभयो । नियामक निकायको नियमनभन्दा पछिपछि यस्ता प्रवृत्तिका मान्छे भएको हुँदा अनधिकृत व्यक्तिबाट अनधिकृत रूपमा बैङ्कबाट पैसा चोरी हुने यस्ता घटनाप्रति स्वयम् व्यक्ति र संस्था सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

व्यक्तिगत कागजात अनधिकृत ढङ्गले प्रयोग गरेर पैसा चोरी भएको यस्तो घटनाको शङ्काको दायरामा जो पनि पर्न सक्ने भन्दै उहाँले यस घटनाबाट ग्राहक त्रसित हुन नपर्ने बताउनुभयो ।
जनता बैङ्कबाट नक्कली चेक बनाएर चोरी भएको पैसा बैङ्क दोषी भएमा बैङ्कले नै दिनुपर्ने र केही पैसा बीमा र केही पैसा कसुरदारबाट असुलउपर गरिने भुक्तानी विभागका प्रमुख मिश्रको भनाइ छ । घटनाको अनुसन्धानका लागि छुट्टै अनुसन्धान टोली पनि खटाएको राष्ट्र बैङ्कले यस्ता घटना रोक्न छुट्टै कानुन बनाउन लागेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्