रोचक खबर : पाना बोहरा जसले गोठमा २३ सन्तान जन्माईन

रोचक खबर : पाना बोहरा जसले गोठमा २३ सन्तान जन्माईन

गोकर्ण दयाल

बैतडी, मङ्सिर १७ गते । चौध वर्षको कलिलै उमेरमा पाना बोहरा गर्भवती हुनुभयो । गाईवस्तुसँगै गोठमा हावापनि नछिर्ने गोठमा बस्दा चार दिनमै शिशुको मृत्युभयो । १५ वर्ष पुग्दा पाना बोहरा फेरि गर्भवती हुनुभयो । फेरि उही गोठको बास । दूध, हरियो साग र माछामासु खान त परैजावस् देख्न समेत नपाईने अँध्यारो गोठ ! गोबरको गन्ध , चिसो भूँइ । सङ्क्रमणले फेरि शिशुको मृत्युभयो । दुर्गम गाउँकी पाना बोहराले यसरी वर्षैपिच्छे लगातार गोठमा २३ सन्तान जन्माउँनुभयो । जन्मेका मध्ये १३ सन्तानको गोठमै मृत्यु भयो । बाचेका चार सन्तानपछि धेरै समय बाचेनन् अहिले उनको छ सन्तानमात्रै जीवित छन् ।

यो कुनै फिल्मको कथा होईन, बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटरा सेला गाउँकी पाना बोहराको जीवनको वास्तविक कथा हो । कुनै कागजको पानामा नलेखिएको पाना बोहराको यो कथाको साक्षीका रुपमा रहनु भएकी स्थानीय स्वास्थ्य चौकीमा २४ वर्षदेखि कार्यरत अनमी कौशा घरेडीले पाना बोहरालाई अन्तिम पटकको तीन वटा सुत्केरीमा आफुले सहयोग गरेको बताउनुभयो ।

गोठमा सुत्केरी हुँदा १३ सन्तानको मृत्युको पीडा झेल्नु भएकी पाना बोहरा त्यसपछि बाँचेका सन्तानको रोचक कथा सुनाउनुहुन्छ । बोहरा भन्नुहुन्छ–“ जन्मेका छोराछोरी एउटै नबाँचेपछि स्थानीय वैद्यको सहयोगमा विषालु जडिबुटी खान थालेपछि मात्रै पहिलो सन्तान बाँच्न सफल भयो । त्यसपछि कोही बाँचे केही बाँचेनन् । बाँचेकामध्ये छ जना जीवित छन ।” उनले २३ जना सन्तान जन्माउनु भयो त्योमध्ये अहिले छ जनामात्रै जीवित छन् ।

बाँचेका छ सन्तान मध्ये जेठी छोरी जोगेनी बोहरा, त्यसपछिका छोरा मानबहादुर, नवराज, माध र छोरी सारथी र सिरोपति जीवित छन् । सबै सन्तानको अहिले विवाह भईसकेको पाना बोहराले बताउनुभयो ।

सन्तान बचाउनकै लागि बोहरा दम्पत्तीले उच्च लेकाली भेगमा पाइने विषालु जडीबुटी मासुमा मिलाएर खाएपछि ६ वटा बाँच्न थालेको कथा निकै रोचक र अचम्मको छ ।

पाना बोहरा अहिले ६० वर्ष पुग्नुभयो । ५० वर्षको उमेरसम्म २३ सन्तानलाई जन्म दिनुभयो । बिहे भएदेखि २०४२ सालसम्म लगातार १३ सन्तान मर्दै गएका कारण बझाङ देउलीकोट (बुङ्गल)का बैद्यको सहयोगमा लेकाली विषालु जडीबुटी मासुमा मिलाएर सेवन गरेपछि बच्चाहरू बाँच्न थालेको पाना बोहराले बताउनुभयो ।

“सन्तानहरू जन्मदै मर्दै गरेपछि दार्चुला र बझाङका वैद्यले उपचार गर्नुहुन्छ भत्रे सुनेको थिएँ’, - पानाका श्रीमान विरपल बोहरा भन्नुहुन्छ –“त्यसपछि एकदिनको बाटो हिँडेर बझाङ बुङ्गल पुगर वैद्य भेटे । उनले विषालु नामको जडीबुटीलाई मन्त्र गरी मासुमा पकाएर खाने तरिका सिकाए ।”

स्थानीयवासीका अनुसार लेकाली भागमा पाइने विषालु जडीबुटीलाई स्थानीय भाषामा ‘फड्के विष’ (सबैभन्दा कडा विष) भनिन्छ । उक्त फड्के विषलाई सामान्य मान्छेले छुन सक्दैनन् । फड्के विषनजिक जानेबित्तिकै मान्छे नसा लागेर लट्ठीने हुन्छ । स्थानीय वैद्यले मन्त्र गरेर मात्र छुन सकिने उक्त विषालु बुटीको बोट ढलाइसकेपछि २० पल्ट उछिट्टिने (स्थानीय भाषामा फड्किने) भएकाले फड्के विष भत्रे गरिएको हो ।

सुत्केरी भएर बच्चा जन्मेपछि छोरा भए बोकाको मासुमा उक्त जडीबुटी पकाएर खाने र छोरी जन्मेपछि कलिलो बाख्रीको मासुमा पकाएर दुवै श्रीमान श्रीमतिले खाने सल्लाह पाएको पाना बोहराका श्रीमानि विरपलले बताउनुभयो । वैद्यले भनेजस्तै गरेपछि २०४२ को अन्त्यतिर जेठी छोरी जन्मिइन् र उनलाई बचाउन सफल भएको बोहराले बताउनुभयो ।

वैद्यले दिएको विषालु जडीबुटीबारे पाना बोहरा भन्नुहुन्छ– “त्यो लेकको जहर (विष) हो । त्यसलाई वैद्यले मन्साएर (मन्त्र गरेर) दिएको हो ।” उक्त जहर मासुमा मिलाएर पकाउँदा जति घिउ राखे पनि सुकेर जाने र मासु खाएपछि अलि अलि नसा लागे जस्तो भएर पनि पार्ने गरेको बोहरा दम्पती सुनाउँछन् ।

बच्चा जन्मेपछि गाउँमा पोसिलो खाना खान नदिने परम्परा रहेकाले १३ वटा बच्चा जन्माउँदासम्म स्वास्थ्य स्थिति कमजोर बनेको र आफू आँखासमेत नदेख्ने भएको बताउँदै पाना बोहरा भन्नुहुन्छ–“गाउँमा उपचार गर्न आएका वैद्यले पोषिलो दही, दूध, घिउ, माछा, गेडागुडी सबै कुरा खाएपछि केही हुँदैन भनेपछि मेरो स्वास्थ्यमा सुधार आयो र छोरी पनि बाँचे ।”

बाँचेकी जेठी छोरीको नामै जोगिनीः

विषालु जडीबुटी मिसाएको मासु एक महिनासम्म खाएको बताउने बोहरा दम्पती छोरी बचोस् भनेर गाउँघरमा जोगिमाता (सन्यासी)लाई छोरी एकछिनका लागि बेचेर पुनः निखनी ल्याउनुपर्छ भत्रे चलन रहेको सुनाए । बोहरा दम्पतिले पनि त्यहि मान्यता अनुसार पहिलो छोरी सन्यासीलाई केही छिनका लागि बेचे र पुनः किनेर ल्याए । त्यसैले पहिलो छोरीको नामै जोगेनी राखियो । जोगेनीको विवाह भई छोरी समेत जन्मिसके ।

त्यसपछि पानाको चार वटा गर्भ खेर गयो भने केही सन्तान जिवित रहे । सन्तान जन्मेपछि वैद्यले भनेअनुसार विषलाई मासुमा मिसाएर खाएपछि बोहरा दम्पत्तीका तीन छोरा र तीन छोरी बाँच्न सफल भएका छन् । त्यसपछि २०६५ सालमा सबैभन्दा पछिल्लोपटक २३औँ सन्तान जन्माएपछि पानाको बच्चा पाउनेक्रम रोकिएको स्थानीय स्वास्थ्य चौकीकी अनमी कौशा घरेडीले बताउनुभयो । २०६७ सालदेखि पाना बोहराको महिनावारी रोकिएको छ ।

२३ वटा सन्तान जन्माएर पनि पाना बोहरा अझै मेलापात गर्नुहुन्छ । पूर्णरूपमा स्वस्थ्य देखिने पानाले ५० वर्षको उमेरसम्म पनि बच्चा जन्माउनु विज्ञानका लागि चुनौतीपूर्ण खबर रहेको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक नवराज जोशी बताउनुहुन्छ । स्वास्थ्य संयोजक जोशीले भन्नुभयो, “सामान्यतया ४५ वर्षसम्म मात्रै महिलाले बच्चा जन्माउने भएपनि पाना बोहराले ५० वर्षसम्म बच्चा पाएको र ५४ वर्षसम्म महिनावारी भएको अचम्मको कुरा छ । ”

जडिबुटीले ठिक हुनसक्ने वैद्यको दावी
जडिबुटीले सन्तान उत्पादन र मृत्यु रोक्न सक्ने जडिबुटी भएको बैतडीका चर्चित वैद्य भोजराज भट्टले दाबी गर्नुभयो । जिल्ला सदरमुकाममा लामो समयदेखि जडीबुटीले बिरामीको उपचार गर्दै आईरहनु भएका वैद्य भट्टले भन्नुभयो, “ म कहाँ पनि आठ वटा बच्चासम्म जन्माएर मृत्यु भएपछि आउने दम्पति छन् । उहाँहरुलाई गर्भ रहेदेखि नै जडीबुटी सेवन गर्न दिएर त्यसपछि सन्तान बाँचेका तमाम उदाहरण छन् । ”

खेतीपाति र मेलापातमा पाना बोहरा
पाना बोहरा उमेरले अहिले ६० वर्ष टेक्नु भयो । झन्डै ३० रोपनीजति खेतवारी र आधा दर्जन चौपायाको जिम्मेवारी बेहोर्दै पाना बोहरा यतिका सन्तान जन्माएर पनि केही होइनजस्तो लागेको अनुभव सुनाउनुहुन्छ । घरधन्दाको ठूलै बोझ अझै उठाइरहेकी पानाको अनुहारमा देखिने चमक र शारिरीक फुर्ती देख्दा आफु अचम्ममा परेको स्थानीय स्वास्थ्यकर्मी रशभरी तितराले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्