वर्षमा १४ हजारले बढ्यो सुन !

वर्षमा १४ हजारले बढ्यो सुन !

राधा चालिसे

काठमाडौँ, पुस १५ गते । नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ ।

अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँ थियो । उक्त महिनामा यसको अधिकतम मूल्य ६० हजार सात सय रुपियाँ कायम भएको थियो ।
गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्नुहुन्छ, अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ ।

सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण मात्र चाँहि होइन । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको मूल्य प्रतिऔँस करिब एक हजार दुई सय अमेरिकी डलर कायम भएको थियो । सोमबार भने एक हजार ५१२ डलरभन्दा बढीमा पुगेको छ । सुनसँगै नेपाली बजारमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि नेपालमा अधिक मूल्य वृद्धि हुन पुगेको हो । नेपाली बजारमा अमेरिकी डलर ११४.४८ रुपियाँमा बिक्री भएको छ ।
त्यसका साथै एक नेपाली सुनको भन्सार दर पनि बढेको छ । अघिल्लो वर्ष प्रति १० ग्राम चार हजार दुई सय रुपियाँ भन्सार दर कायम गरिएकोमा चालू आवमा दुई पटकसम्म भन्सार दर बढाइएको छ । नयाँ आर्थिक वर्ष सुरु हुँदा पाँच हजार रुपियाँ भन्सार दर तोकिएको थियो । त्यसपछि गत असोजमा पुनः बढाएर छ हजार पाँच सय रुपियाँ पु¥याइएको छ ।

विवाहलगायतका अन्य शुभकार्यका लागि अफ सिजन भएका कारण नेपाली बजारमा सुनको किनबेच शून्यजस्तै भएको पूर्वअध्यक्ष शाक्य बताउनुहुन्छ । पुसको अन्तिम सातापछि भने बजारमा केही चहलपहल देखिएला भन्ने आशा छ ।
सुनसँगै चाँदीको पनि मूल्य बढेको छ । गत वर्ष यही अवधिमा प्रतितोला ७६५ रुपियाँमा किनबेच भएको चाँदीको मूल्य सोमबार ८९० रुपियाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्