कविता : कति दुख दिन्छस् ? – भुवन कुमार वाग्ले

कविता : कति दुख दिन्छस् ? – भुवन कुमार वाग्ले

-- भुवन कुमार वाग्ले

ए भुंडी,
कति फुल्दछस ?
तन्किएको छालाले लिपेको
बोसोको पर्खाल भित्र
फोहोरको सिसडोल वोकेर ,
कति पिरोल्छस।
यहाँ तेरै कारण मेरा आँखा हरुको
खुट्टाका नङहरुसंग डिभोर्स भयो,
मरियाना ट्रेन्च भन्दा गहिरो भो मेरो नाभी
कम्मर जहिल्यै कम्प्लेन गर्छ मसंग
किन कारवाही गर्दैनस भनेर,
मन भन्छ तिनलाई सिक्स प्याकमा थन्काईदिउं,
तर तं चै मेरो स्वादे जिव्रो र अल्छि तिघ्रोसग मिलेर
खुप मस्तसंग लुदा परिपरी झूलेको छस् ।
***
म उठ्छु भन्छू, तं घुंडासंग घस्रिन्छस
कुद्छु, भन्छु, करङले फोक्सा च्यापिदिन्छस
उफ्रिम तं मलाई उंधै तान्छस,
शिर्षासन गरु, तं मलाई उंभो ठेल्छस,
तै भुंडीलाई देखेर विच्केकि उनलाई वल्ल वल्ल सुम्सुम्याउन खोज्छु,
विचमा तं नै टाङ अडाउन आईपुग्छस ।
म पुरुष हुँ भनेर गर्व गर्न त दे,
हरियो परियो सबै हेरेर मुत्र त्याग गर्न त दे,
गानो गोला र अपान वायुको घर
हे भुंडी कति पिरोल्छस मलाई,
***
म असल धनी र सुखि मान्छे
काम कम गर्छु, मीठोमीठो खान मनपराउंछु ।
विहानै चारोटा अण्डाको सानोअम्लेट र एकपाकेट व्रेड दुधसँग खान्छु
दिउँसो खास भोक नलागेपनि खसीको ह्याकुलो को फ्राई सग दुईथाल भात खान्छु ।
भुंडी अलि ठुलो भए पनि म भुंडीभरि कुत्रुङजालो र भुंडीचिउराको खाजा खान्छु ।
खाएपछि पच्नूपर्छ भनेर गर्मीमा केही वोतल वियर र जाडोमा दुई क्वाटर रम खानैपरो, साथीभाइ राख्नैपरो,
हाम्ले नखाए होटल रेस्टुरेन्ट व्यवसाय धरापमा पर्छ देशभक्त मान्छे ले सोच्नपरो,
राति घरमा वुढी रिसाउंछे, एकथाल उसको हातको पनि खाईदिनैपरो
घरवार जोगाउनै परो ।
खासै धेरै खान्न म, तर पनि वोसो चै तै माथि किन थुप्रिन्छ हं ?
असन्तोकि भुंडी
कति सताउंछस ?
***
नयाँ कपडा किन्न पसल जान्छु, मनपर्ने रङ डिजाइन छान्छु,
ट्रायल हान्छु
तं टांक चुंडाएर प्याट्ट वाहिर निस्कन्छस र म वहाना गरेर भाग्न वाध्य हुन्छु
मेरो वेल्ट हप्तैपिच्छे एपोईन्ट गर्छु, तुरन्तै राजिनामा दिन्छ
पाईन्ट खालि औलतिर वसाई सर्छु भन्छ,
अस्ति एकहातले फोनमा वोल्दै र अर्को हातले झोला समातेर हिड्दै थिएं शिब मन्दिर छेउमा
विस्तारै पाईला छोटा भए, खुट्टा वाधिए, यसो हेरे, देखिन,
सबैले थपडी वजाएपछि पो थाहा भो,
मैले धेरै वर्षदेखि नदेखेको शिवको सबैले दर्शन पाएछन्
अपजसिया वेईज्जती भुंडी
कति हण्डर ख्वाउंछस ।
***
म त भैसीलाई सिङको भारी हुदैन भनेर चित्त वुझाम्ला रे
सबैको नजर पैला तै माथि पर्छ,
गामका मान्छे त लौ खाईलाग्दो भएछ भनेर खुशी होलान्
म त शहरमा वस्छु, जहाँ ठुला पाखुरा, डोलेशोले, खालि पेट र दिमागको कदर हुन्छ ।
म पनि त्यस्तै वन्न कोशिस गर्छु,
तंलाई तह लाउन एक दुई दिन जीम र एक दुई दिन खर्चिलो व्याडमिन्टन खेल्न पनि तन्किदै गएं
चिया गफमा तंलाई हल्लाउंदै फिटनेसको गफ पनि दिएं,
आ वरु कुद्नै सस्तो भन्दै
हप्तामा एकदिन वैकुण्ठ मानन्धरको झै अर्के वाटो कुद्न निस्किन्छु,
५०मिटर कुदेपछि हुरूक्क हुनेगरी थाक्छु, कमजोर महसुस गर्छु
अनि आएर तीनथाल मासुभात अकवरे खोर्सानी टोक्तै गोद्छू,
पाखुरा र तिघ्रा अलिअलि सुकेसुके जस्तो हुन्छ,
तं त झन मृदंग वजाउंदै अट्टहास गर्छस्,
अजम्मरी अपराधी भुडी
कति दुख दिन्छस्
*****
भुवनकुमार वाग्ले
विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्