सकारात्मक समाचार :विराटनगर ल्याइयो चीनबाट ल्याइएका स्वास्थ्य सामग्री,अस्पतालहरुलाई उपलब्ध हुने

सकारात्मक समाचार :विराटनगर ल्याइयो चीनबाट ल्याइएका स्वास्थ्य सामग्री,अस्पतालहरुलाई उपलब्ध हुने

विराटनगर । चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य सामग्री प्रदेश १ सरकारले अस्पतालहरुलाई उपलब्ध गराउन शुरु गरेको छ । संघीय सरकारले प्रदेश १ लाई स्वास्थ्यसँग सम्बन्धित केही सामग्री उपलब्ध गराएको हो ।

नेपाल सरकारले प्रदेश नं. १ लाई स्काई ट्रकमार्फत ढुवानी गरी ती सामग्री हस्तान्तरण गरेको हो । आजपनि मालवाहक सवारीमार्फत संघीय सरकारले पठाएका सामग्री विराटनगर ल्याइँदै गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् । उनले भने,‘‘हामीले साविकका मेची,कोशी र सगरमाथाका पहाडी जिल्लामा अवस्थित अस्पतालाई उपलब्ध गराउन ट्रकबाट पठाउँदै छौं ।’’ स्वास्थ्य सामग्री पठाउन तीनवटा ट्रकको व्यवस्थापन गरिएको घिमिरेले बताएका छन् ।

नेपाली सेनाको स्काई ट्रक मार्फत व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नेपाल सरकारले हिजो पठाएको हो । व्यक्तिगत सुरक्षा उपकरण हवाई जहासमार्फत आएपनि अब केही सेनिटाईजर लगायत सामग्री काठमाडौबाट ट्रकमा आउँदै गरेको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकारले एक सय ३७ वटै स्थानीय तहमा पीपीई पठाउने प्रबन्ध गरेको हो । स्वास्थ्य मन्त्रालयले सेनिटाइजर, मास्कलगायतका सामग्री गाडी मार्फत पठाएको घिमिरेले जनाए ।

प्राप्त भएको पीपीई  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एक सय ५०, कोशी अस्पताललाई एक  सय ५०, कोशी अस्पताल  कोरोना उपचार केन्द्रलाई दुई सय थान र मेची अस्पताललाई ४६ थान पठाइएको छ ।

मन्त्री घिमिरेका अनुसार मोरङ जिल्लालाई ३४, सुनसरीलाई २४, धनकुटालाई १४, तेह्रथुमलाई १२, संखुवासभालाई २०, भोजपुरलाई १८, सोलुखुम्वुलाई १६, उदयपुरलाई १६, खोटाङलाई २०, झापालाई ३०, पाँचथरलाई १६, ताप्लेजुङलाई १८, इलामलाई २०, ओखलढुङ्गालाई २० वटाका दरले स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ ।

भने,‘‘स्वास्थ्यकर्मीहरुको सुरक्षा सरकारको पहिलो प्राथमिकता हो । हामी स्वास्थ्य सुरक्षाका सबै उपकरणहरुको प्रबन्धमा गर्नेमा लागेका छौं ।’’ स्वास्थ्य उपकरण आइतबार चीनको गोञ्जाओबाट नेपाल ल्याइएको हो । प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म नै स्वास्थ्य सामग्री पुगिसक्ने विश्वास गरिएको मन्त्री घिमिरेले बताएका छन् ।

यसैबीच धरानमा संचालनमा आएको ल्याबमा सोमबार १९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्