विराटनगर चैत २०,
प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरूका लागि एनआईसी एशिया बैंकद्वारा रू. पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा रू. पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।
यसै सन्दर्भमा २०७६ चैत्र २० गते बिराटनगरस्थित मुख्यामन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यूले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईज्यूलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो । प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा रू. पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।