विराटनगरबाट एक किलोमिटर पुर्वदेखि खुला सीमा नाका : सीमामा पाहुना लाग्नेको लर्को

विराटनगरबाट एक किलोमिटर पुर्वदेखि खुला सीमा नाका : सीमामा पाहुना लाग्नेको लर्को

नवराज कट्टेल

विराटनगर, चैत २४ गते । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।

नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ । खुला सीमा नाकाको ६३ किलोमिटर दूरी क्षेत्र दिनभर सुनसान हुने गरे पनि साँझ परेपछि माइती–ससुरालीका पाहुनाको ताँती लाग्ने गरेको छ ।
मोरङको दक्षिणवर्ती क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायसँग सीमापार भारतीय क्षेत्रको संस्कृतिदेखि ज्वाइँ र बुहारीको नाता छ । वैध र अवैध दुवै खालको व्यापारदेखि नाता सम्बन्ध जोडिएका क्षेत्र भए पनि कोरोना सन्त्रासबाट जोगिन नेपाल आउनेबाट दक्षिणी क्षेत्रका बासिन्दा भने अहिले चिन्तामा छन् ।

नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायको उपस्थिति रहनेगरेका कारण दिउँसो नाका सुनसान रहनेगरेको हो तर साँझ परेपछि दुवैतर्फ खुला हुन्छ । रातभर भने पूरै खुला हुने भएपछि सोही मौकामा नेपाल आउनेको लर्को लाग्ने गरेको सार्वजनिक माध्यमिक विद्यालय जहदाका शिक्षक अजय सिंहले बताउनुभयो । जहदाको नोचा, डमुरिया र तारिगामा नाकाबाट दैनिक दुई सय ५० को हाराहारीमा नेपाल प्रवेश गर्ने गरेकोे शिक्षक एवं स्थानीयवासी सिंहको भनाइ छ । स्थानीयवासीले यसरी सीमा नाका हुँदै आउनेलाई रोक लगाउने प्रयाससमेत गरिसकेका छन् तर नेपालमा रहेका आफन्त भेटघाट गर्न आएको भनेपछि उनीहरूका आफन्तसँग सम्पर्क गर्दै एकिन गरेर छाड्नुपर्ने बाध्यता छ । साँझ परेसँगै लकडाउन खुकुलो गरिएपछि दुवैतर्फका नागरिकको आवत–जावतको बाटो खुल्नेगरेको छ । सीमापारी भारतीय बजारसम्म पुगेर आवश्यक पर्ने सामग्री ल्याउने काम अहिले पनि भइरहेको जहदाका अर्का स्थानीय कैलाश मण्डलले बताउनुभयो ।

भारतमा काम गरेर नेपाल आउनेले समेत अहिले सहायक नाकालाई प्रयोगमा ल्याउनेगरेको सीमासँग बस्ती जोडिएका स्थानीयको दाबी छ । भारतको सीमा नजिकै आइपुगेका उनीहरूले साँझ परेपछिको मौकालाई छोप्दै सहायक नाका प्रयोग गरेर नेपाल आउने धनपालथान गाउँपालिका २ का पशुपति पासवानले जानकारी दिनुभयो । धनपालथानमा मायागञ्ज छोटी भन्सार नजिकै खयरबोना नाका हुँदै नेपाल आउने पनि दैनिक उत्तिकै हुने गरेका छन् ।
नेपाल प्रवेश गर्नेले राति समयलाई मौका मान्दै आएका छन् । जहदा गाउँपालिका ४, बुधनगरका नितेशकुमार साह सुरक्षा निकायसँग सहकार्य गरेर नेपाल प्रवेश गर्नेलाई रोक लगाउने विषयमा योजना बनाइरहेको बताउनुभयो ।

मोरङको मुख्य नाका रानीसहित जहदा गाउँपालिकाको तारिगामा, मधुमल्ला, डमुरिया, धनपालथानको मायागञ्ज, खयरबोना, गडरिया, कदमाहा रङ्गेली नगरपालिका ६ को रङ्गेली र सुनवर्षी नगरपालिका ८, असनगढी, रतुवामाई नगरपालिकाको चुनीबारी, डोरिया, चौकीघाट र सुनवर्षी नगरपालिकाको डायनिया छोटी भन्सारसहितको आवत–जावत हुने क्षेत्रमा पर्छ । यीमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् । सञ्चालनमा रहेका छोटी भन्सार धनपालथान गाउँपालिका ३, मायागञ्ज, रङ्गेली नगरपालिका ६ को रङ्गेली र सुनवर्षी नगरपालिका ८, असनगढीको डायनिया छन् । मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीले भारततिर लकडाउनका कारण ५० किलोमिटर टाढासम्म कोही पनि नागरिक नरहेको बताउनुभयो । उहाँले पाहुना आए पनि छिमेकीले प्रहरीलाई सूचना दिने गरेको दाबी गर्नुभयो ।

- गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्