प्रदेश १ सरकारको निर्णय : कोरोनाको नियन्त्रणका क्रममा मृत्यु भए राहतस्वरूप ५० लाख पाउने

प्रदेश १ सरकारको निर्णय : कोरोनाको नियन्त्रणका क्रममा मृत्यु भए राहतस्वरूप ५० लाख पाउने

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा खटिनेहरूको कार्यक्षेत्रमा सक्रिय हुँदा मृत्यु भए परिवारलाई राहतस्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपचारमा संलग्न सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, बिरामी बोक्ने एम्बुलेन्स चालक र सुरक्षाकर्मीदेखि स्थानीय तहका कर्मचारीको ज्यान गए परिवारलाई एकमुष्ठ ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यकर्मीहरूबाट जोखिमपूर्ण रुपमा काम गर्नुपर्ने भन्दै गुनासो आएको बेला प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले सेवाको कदर गर्दै राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।

सरकारले स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।

यसैबीच कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई गैरसरकारी संस्थाको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरिएको छ । प्रदेश १ मा सक्रिय गैससको तर्फबाट रु १३ लाख भन्दा बढी मूल्य पर्ने ती सामग्री आज प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले मार्फत केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

सेभ द चिल्ड्रेन प्रदेश १ का वरिष्ठ परियोजना प्रबन्धक हरिबोल बजगाईंले स्वास्थ्य सामग्रीहरू मन्त्री घिमिरेलाई हस्तान्तरण गरे । ३० थान बेड, व्यक्तिगत सुरक्षा उपकरण, कार्डिक मोनिटर र पल्स अक्सिमिटर हस्तान्तरण गरिएको हो ।

प्रदेश १ मा कार्यरत लुथरन विश्व फेडेरेसन, आईपास, करुणा फाउन्डेसन, सेभ द चिल्ड्रेन, आड्रा, वन हार्ड वल्डवाईड, एनएसआई, प्लान इन्टरनेशनल, पीएसआईले कोभिड १९ उपचार केन्द्रका लागि ४५ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने योजना रहेको सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना प्रबन्धक बजगाइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्