कविता : कर्तव्य – भेषराज पोखरेल

<span class='c1'>कविता : कर्तव्य</span> <span class='c2'>– भेषराज पोखरेल</span>

::::::::::::::::::: कर्तव्य ::::::::::::::::::::::

मृत्युले आधा शरीर निलिसक्दा पनि
मर्ने डरभन्दा
तिमीलाई गाली गर्ने रहर धेरै लाग्यो !
करोडौं निरीह मनहरूको भरोसा बटुलेर
आस्थाको उचाइमा अडिएका तिमीलाई
सगर उक्लिनु भन्दा
बेइमानीको कलङ्कसँगै
स्खलित हुने रहर धेरै लाग्यो !
यी कुत्सित रहरहरूको खोसाखोसमा
डोरी बनेका निर्दोष मानिसहरू
च्वाट्ट चुँडिए भने
तिमी पल्लो भीरबाट झर्ने छौ
म ओल्लो भीरबाट झर्ने छु
अड्किएछौँ पहरा मै भनेपनि
जीवनको भिख माग्ने नैतिक सामर्थ्य गुमाएर
तिमी पश्चाताप मात्र गर्ने छौ
म केवल अभिशापले मर्ने छु
अब त सम्झिँदा पनि लाज लाग्छ
हिजोका सामुहिक लडाइँमा
न तिमी तिमी थियौ
न म म थिएँ म
मात्र हामी हामी थियौँ
तर
कागजका खोष्टाको मोहनीमा
चुर्लुम्म भएपछि
म तिम्रो विनाशमा लागेँ
तिमी मेरो सर्वनाशमा लाग्यौ
घृणाको पराकाष्ठा
म तिम्रो बर्बादीमा रमाइरहेँ
तिमी घीनलाग्दो आवादीमा रमाइरह्यौ
प्रकृतिको यो निर्मम सङ्केतसँगै
हार्दिक आग्रह छ तिमीलाई
एकैसाथ छोडौँ
प्रतिशोधपूर्ण अविश्वासका विकृत भूलहरू
एकैसाथ गोडौँ
मानवता र सद्भावका सुन्दर फूलहरू
अझै कति खेल्नु
अबोध चेहराको खुसी खोस्ने यी घीनलाग्दा खेलहरू
अझै कति झेल्नु
आफ्नै षड्यन्त्रले जन्माएका यी डरलाग्दा झेलहरू
फेरि एक पटक नेपाल आमाको सन्तान भएर
फालौँ
स्वार्थैस्वार्थको लेप लागेका हाम्रा यी विकृति बेमेलहरू !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्