प्रदेश १ मा कारोना संक्रमणले समस्यामा परेका नागरिकको लागि ९ करोड ५० लाख निकासा

प्रदेश १ मा कारोना संक्रमणले समस्यामा परेका नागरिकको लागि ९ करोड ५० लाख निकासा

विराटनगर । प्रदेश १ सरकारले कारोना संक्रमणका कारण समस्यामा परेका नागरिकलाई राहत सामग्री दिलाउन ९ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ ।

उत्पन्न परिस्थितिमा स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचार सँगसँगै मुख्य रूपमा राहत वितरणका लागि रकम निकासा गरेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । प्रदेशवासीको नाममा सोमबार गरेको सम्बोधनको क्रममा राईले महानगरपालिकालाई २० लाख रुपैयाँ,  उपमहानगरपालिकाहरूलाई १५ लाख रुपैयाँ,  नगरपालिकाहरूलाई १० लाख  र गाउँपालिकालाई ५ लाख गरी एकमुष्ट ९ करोड ५० लाख रुपैयाँ बजेट पठाउने व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।

राईले भने, “जिल्लामा कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार कार्यमा स्थानीय पालिकाहरू र स्थानीय प्रशासनसँगको समन्वय र प्रभावकारी अनुगमन लगायतको भूमिकाका निम्ति प्रदेशका १४ वटै जिल्ला समन्वय समितिहरूलाई पाँच–पाँच लाखका दरले ७० लाख रुपैयाँ रकम पठाउने समेत व्यवस्था मिलाइएको छ ।” सरकारले यसभन्दा अगाडि प्रदेशका सबै सरकारी अस्पताललाई समेत ३ करोड रुपैयाँ बजेट निकासा गरेको थियो ।

कोरोना भाइरसविरुद्वको यस अभियानमा अहोरात्र खटिरहेका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सबै जिल्ला सुरक्षा समितिहरूले खेलिरहेको भूमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ थप सक्रियता र प्रभावकारितामा वृद्धि ल्याउन सुरक्षा निकायहरूलाई १ करोड ६८ लाख रुपैयाँ निकासा गरिएको मुख्यमन्त्री राई जानकारी गराएका छन् ।

स्थानीय समुदाय, सामाजिक संघ–संस्थाहरूले खेलेको भूमिका उल्लेखनीय भएको जनाउँदै मुख्यमन्त्री राईले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारीको भूमिका र सक्रियता सराहनीय भएको बताएका छन् । स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय प्रदेश सरकाले गरिसकेको छ । कार्यक्षेत्रमा खटाएको अवस्थामा कोरोना संक्रमित भई मृत्यु भए निजको परिवारलाई सेवाको कदर स्वरूप प्रदेश सरकारको तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री राईले जनाएका छन् ।

लकडाउन भएको आज २१ दिन भएको छ तर लकडाउनको कुनै विकल्प छैन भन्दै राईले यसको असहज परिस्थितिलाई सामना गर्नुपर्नेमा जोड दिएका छन् । “भारतमा बढन सक्ने सम्भावित संक्रमण र हाम्रो खुला सीमाहरूका कारण हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ । कुनै पनि नाम वा बहानामा हाम्रो दक्षिणतर्फको नाकाहरूबाट हुनसक्ने आवागमनलाई कडाइ गर्नुपर्नेछ,” राईले भने, “यो नै हाम्रो यस प्रदेशको सुरक्षाको मुल कडी हो । जेहोस हामीले उच्चस्तरको सावधानी अपनाउनु पर्नेछ । त्यसैले निरन्तरको लकडाउनबाट थुप्रै असहजता र कठिनाइहरू झेल्दै यो महामारीविरुद्वको अभियानमा पूर्ण साथ दिनु हुने तपाईंहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।” राईले कोरोना पराजित गर्ने एउटै उपाय सावधानी र उच्च सतर्कतता भएको स्मरण गराएका छन् । उनले कोरोनाबाट बच्न अपनाउनुपर्ने नियमित नियम र अनुशासनहरूको पालना अनि लकडाउनमा बसेर सामाजिक दूरी कायम गर्न आह्वान पनि गरे ।

सामाजिक दूरी कायम राखेर अत्यावश्यक कामबाहेक घरबाट ननिस्कने र केही लक्षण र आशंकाहरू भए तत्काल स्वास्थ्य परीक्षण गर्ने र होम क्वारेन्टाइनमा बस्ने, थप समस्या देखिए अन्य क्वारेन्टाइन र आइसोलेसनमा बस्दा मात्र आफू आफ्नो परिवार र सबैलाई सुरक्षित गर्न सकिन्छ र सहजै कोरोना भाइरसलाई पराजित गर्न सकिने मुख्यमन्त्रीको जोड छ ।

राईले प्रदेश सरकारले क्वारेन्टाइन, कोरोना परीक्षण र सरकारले गरेका प्रयासबारे पनि सम्बोधनमार्फत प्रदेशवासीलाई जानकारी गराएका छन् । उनले प्रदेशवासीलाई नयाँ वर्ष २०७७ को शुभकामना पनि दिएका छन् ।बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्