मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध

मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध

विराटनगर । मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध गराएका छन् ।

एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिबाट पीडित बनेका विपन्न र प्रभावित मानिसलाई राहत उपलब्ध गराइएको जनाएका छन् ।

विराटनगर महानगरपालिकासहित रंगेली, रतुवामाई, सुनवर्षी, उर्लाबारी, बेलबारी, लेटाङ, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिकाले समस्यामा परेकालाई राहतस्वरूप खाद्यान्न वितरण गरेका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने, ‘‘हामीले पहिलो चरणमा विपन्न तथा राहत चाहिनेहरूका लागि वडा कार्यालयमार्फत् राहत वितरणको प्रबन्ध मिलाएका हौं ।’’ पराजुलीले अझै धेरै ठाउँबाट राहत माग भइआएको सुनाए ।

यसैगरी मोरङका गाउँपालिकाहरूले पनि राहत वितरणलाई तिव्रता दिएका छन् । मिक्लाजुङ, ग्रामथान, धनपालथान, जहदा, कानेपोखरी, बुढीगंगा, कटहरी र केराबारी गाउँपालिकाले पनि राहत वितरण गरेका छन् ।

पालिकाहरूले चामल, दाल, चिउरा, तेल, नुन र दूध वितरण गरिरहेका छन् । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले गाउँपालिकाका विपन्न र दैनिक ज्यालादारीमा काम गरी खाने परिवारका लागि खानाको व्यवस्थापन गरिएको बताए ।

भने, ‘‘अति समस्यामा परेकाहरूलाई प्राथमिकता दिई हामीले राहत वितरण गरेका हौं ।’’ कार्कीले केराबारीमा सबै दलहरूको तदारुकतामा पीडितको लगत संकलन गरी राहत वितरणको काम गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको तथ्यांकअनुसार जिल्लाका पालिकाहरूले चामल २९ लाख २७ हजार ७ सय १२ केजी, दाल १ लाख ७३ हजार ५ सय ८८ केजी, आलु ५८ हजार ३ सय ३८ केजी, नुन ८२ हजार १ सय ९१ केजी, तेल ४६ हजार ७ सय ३९ लिटर, साबुन ७३ हजार ७ सय ६३ थान र चिउरा ३९ हजार ४ सय २ केजी तथा दूध १ हजार ५ सय ३० लिटर वितरण गरेका छन् ।

सबैभन्दा धेरै विराटनगर महानगरपालिकाले     २६ हजार २ सय ६८ परिवारलाई राहत वितरण गरेको छ । रंगेली नपाले ७ हजार ७ सय ५२, सुनवर्षीले २ हजार ४ सय ९२, धनपालथानमा ६ हजार ४ सय २१, बेलबारी नपाले    ४ हजार १ सय १५, सुन्दरहरैचा नपाले ४ हजार ८ सय, केराबारी नपाले १ हजार ५ सय ११, ग्रामथान २ हजार ५ सय ४४, जहदाले    ५ हजार ८ सय १६, कटहरीले ४ हजार, बुढिगंगाले ६ हजार ३ सय ८३, लेटाङले २ हजार १ सय ४१, पथरी शनिश्चरेले ४ हजार २ सय ९४, कानेपोखरीले २ हजार २ सय ४०, उर्लाबारीले  ७ सय ९३ र मिक्लाजुङले १ हजार ५ सय ४२ घरघुरीलाई राहत वितरण गरेका छन् । रतुवामाई नगरपालिकाले हालसम्म कसैलाई पनि राहत वितरण गरेको छैन । - बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्