विराटनगर बैशाख ५,
विराटनगरको वडा नम्बर १५ मा राहत वितरणमा स्थानीयले विरोध गरेका छन् । विराटनगर १५ को सुधी टोलमा अन्य टोलभन्दा कम राहत तथा गुणस्तरहीन सामान दिएको भन्दै दुखेसो गरेका छन् ।
बिराटनगर १५ अन्तर्गत २५ वटा टोल मध्य २३ वटा टोलमा राहत वितरण गर्दा १२ किलो चामल ,१ किलो मसूर दाल, ०·५ किलो रहर दाल ,१ साबुन, १ किलो नून ,०·५ लिटर तेल र २ किलो आलु वितरण भएको तर २वटा टोल ( सुधी टोल क र ख ) मा राहत बितरण गर्दा १० किलो चामल, १ किलो मासुर दाल, ०·५ लिटर तेल मात्र पाएको स्थानीयको आरोप छ ।
बिहीबार वितरण गरिएको चामल समेत गुणस्तरहीन रहेको स्थानीय युवा अगुवा इमरान अनसारी आवर विराटनगरलाई बताए । "एउटै वडामा फरकफरक गुणस्तरको राहत तथा फरक परिणामको राहत वितरण भएको छ" उनले भने ।
यता, उक्त वडाका अध्यक्ष असलम आलमले भने विराटनगर महानगरपालिकाले मागेको बमोजिम राहत नपठाएको हुनाले अहिले आफ्नै खर्चमा राहत वितरण गर्नुपरेको बताउँछन् ।
उनका अनुसार उक्त वडामा लगत संकलन गरेर ३ हजार १ सय ११ परिवारलाई माग गरिएको भएपनि नगरपालिकाबाट २ हजार ३ सय ५० परिवारलाई मात्रै राहत आएको उनको गुनासो छ ।
विराटनगर महानगरको सिटि प्रोभाइलमा रहेका परिवारलाई मात्रै राहत आएको आलमको भनाइ छ । "म अहिले व्यक्तिगत पैसा खर्च गरेर भएपनि छुटेका परिवारलाई राहत वितरण गर्दै आएको छु" आलमले भने ।